देश

७ हजार केजी भन्दा बढि नक्कली महसहित उत्पादक पक्राउ, यसरी बनाइन्थ्यो नक्कली मह (भिडियोसहित)


काठमाडौँ – महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गरेर बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाले ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई ७ हजार केजी भन्दा बढी गुणस्तरहीन मह तथा मह बनाउन प्रयोग हुने सामग्री सहित पक्राउ गरेको हो । उनले कसरी यस्तो मह उत्पादन गर्दै आएका थिए त ?

महानगरी अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गरी विक्रि वितरण गर्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकका ईन्द्रावती गाउँपालिका–६ घर भई काठमाडौं ज्याठा बस्ने उनले चिनी पानी, ग्लूकोजको झोल र केही मह प्रयोग गरेर नक्कली मह बनाएर विक्रि वितरण गर्दै आएका थिए । उनलाई बनाउँदै गरेको केमिकलयुक्त गुणस्तरहीन ६०० केजी गुणस्तरहीन मह र ६ हजार ५०० केजी कच्चा पदार्थ सहित पक्राउ गरेको हो ।

महाशाखाले दश दिन अघि ज्याठा क्षेत्रमा विभिन्न बस्तु मिसाएर मह बनाउने गरेको सुचना प्राप्त गरेको थियो । लगत्तै नमुना संकलन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परिक्षण लागि पठाएको थियो । विभाग उक्त अखाद्य रहेको प्रमाणित गरेपछि महाशाखाले हिजो छापा मारेको हो । श्रेष्ठले विगत ७ वर्षदेखि आफ्नो श्रीमतीको नाममा ‘नतिजा प्याकेजिङ’ सञ्चालन सञ्चालन गर्दै आएका थिए । त्यही कम्पनीका आधारमा उनले ‘स्पर्स’ नाम दिएर मह बिक्री गर्दै आएको प्रहरीले बताएको छ ।

श्रेष्ठले मह बनाउनका लागि ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी मह उत्पादन गर्ने गरेको पाइएको छ । उत्पादीत गुणस्तरहिन मह उनले काठमाण्डौ भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

पक्राउ परेका उनले नतिजा प्याकेजिङ श्रीमतिको नाममा चलाए पनि यीनले स्पर्स हनी ब्राण्डमा कुनै कम्पनी दर्ता नगरेको पाईएको छ । तर उल्टै उनले भने आफूले बजारलाई जस्तो चाहियो त्यस्तै मह उत्पादन गरिरहेको र यो कुनै नौलो विषय नभएको बताए । यतिमात्र नभएर यसरी उत्पादीत मह तीन बर्षबाट वित्रिवितरण गरिरहेको तथा उपत्यकामा खपत हुने अधिंकाश मह यसरी नै उत्पादन हुने समेत उनको दाबी छ ।

श्रेष्ठले मह उत्पाद गर्दै आएको डेराबाट प्रहरी मह बनाउन प्रयोग हुने मेसिन,प्याकिङका बट्टा,स्टिकर तथा कच्चा पदार्थ समेत बरामद गरेको छ । श्रेष्ठले हाल उपत्यकामा यसरी मह उत्पादन गर्ने २० भन्दा बढि कम्पनीहरु रहेको र ती सबैले उत्पादन गर्ने प्रक्रिया आफ्नो जस्तै रहेको समेत दाबी गरेका छन् ।