देश

५० करोड खोप दिने अमेरिकाको घोषणा


काठमाडौँ – अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो वर्षदेखि फाइजरको थप ५० करोड मात्रा प्रदान गर्ने घोषणा गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत भएको भर्चुअल कोभिड–१९ साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै बाइडेनले खोपको पहुँच विस्तारका लागि सहयोगको घोषणा गरे । विश्व स्वास्थ्य संगठनले यो वर्षको अन्त्यसम्ममा सबै देशमा कम्तीमा ४० प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य तोकेको छ । विश्वका धनी देशमा हालसम्म कम्तीमा आधा जनसंख्यालाई खोपको कम्तीमा एक मात्रा दिइएको छ । तर कम आय भएका देशमा मात्रै दुई प्रतिशत मानिसले खोपको कम्तीमा एक मात्रा लगाउन पाएको अक्सफोर्ड विश्वविद्यालयले जनाएको छ ।

अमेरिकाले यसअघि नै कम आय भएका देशहरुलाई ५८ करोड मात्रा खोप उपलब्ध गराउने वाचा गरेको थियो । त्यसमध्ये १६ करोड मात्रा खोप विभिन्न देशमा पुगेको छ ।