Breaking

२०२२ को चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई


काठमाडौँ – स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।

नोबेल पुरस्कार वितरण समितिले सोमबार उक्त पुरस्कारको घोषणा गरेको हो । पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उहाँको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौं भन्ने पत्ता लगाउने आधार बनेको छ,’ नोबेल कमिटीले भनेको छ ।

नीयनडर्थल डिएनए र संसारभरि रहेका मानवको डिएनएबीच गरिएको तुलनापछि उनीहरूको डिएनए युरोप र एसियाका मानिसहरूको डिएनएसँग मिल्दोजुल्दो पाइएको छ ।

यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ र हामी आज पनि त्यसको विरासत देख्न सक्छौं । उनले यसभन्दा अघि अज्ञात होमिनिन, डेनिसोभाहरू पत्ता लगाएर सनसनीपूर्ण खोज पनि गरेका थिए ।

नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लमनले प्रोफेसर पाबोलाई फोन गरी पुरस्कृत भएको जानकारी दिएका थिए । पर्लमनले स्वान्टे पाबोलाई पुरस्कारबारे जानकारी गराउँदा उनले आफू शब्दविहीन र खुसी भएको बताएका थिए । उनले १ करोड स्वीडिस क्रोनर अर्थात् ८ लाख बेलायती पाउन्ड बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।