देश

२०१० मा राखिएको नेपालको लक्ष्य पुरा हुने अनुमान


काठमाडौँ – नेपालले १२ वर्षअघि लिएको लक्ष्य पुरा हुने संकेत देखिएको सरकारले जनाएको छ । सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पुर्याउने नेपालले गरेको लक्ष्य पुरा हुने भएको हो ।

नेपालले २ सय ५० वटा पुर्याउने लक्ष्य राखेको थियो । यो संख्या २०१० मा नेपालमा भएको बाघको संख्याभन्दा दोब्बरले बढी हो । नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य राखेको थियो ।

हाल नेपालमा रहेको बाघको संख्या थाहा पाउन सोमबारदेखि बाघ गणना सुरु गरिएको छ । २०१८ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा २ सय ३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको छ । अर्को महिनासम्ममा गणनाको नतिजा सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

बाघको विचरण रहेको क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्र गरी तीनवटा क्षेत्रमा विभाजन गरिएको छ । बाघ गणनाको लागि चितवन पर्सा कम्प्लेक्समा सात, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्रमा तीन वटाका दरले हात्ती परिचालन गरिएको छ।