पर्यटन

होटल व्यवसाय महामारीले अस्तव्यस्त, विदेशी पर्यटकमा निर्भर अधिकांश होटल बन्द (भिडियो)


काठमाडौँ – पर्यटनको मेरुदण्ड मानिने होटल व्यवसाय महामारीले अस्तव्यस्त छ । विदेशी पर्यटकमा निर्भर अधिकांश होटलहरु बन्दप्राय छन् । करोडौँको कारोबार हुने होटल व्यवसायबाट आम्दानी नहुने देखेपछि व्यवसायी चिन्तित देखिएका छन ।

कोरोना महामारीका कारण विदेशि पर्यटक नेपाल नआउदा होटल व्यावसाय अझै पुर्ण रुपमा संचालन हुन सकेका छैनन् । कोरोना महामारीको जोखिम कम भए पनि सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न नसकेको आरोप लाग्ने गरेको छ । अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान नहुदा विदेशि पर्यटक नेपाल आउन सकेका छैनन् । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको भए पनि नेपाल सरकारले वास्ता नगर्दा समस्या उत्पन्न भएको बताउछन । पर्यटनको बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरुका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्ने उनको भनाई छ ।

होटल पबेराका सञ्चालक राधेश्याम थापा पनि कोरोनाका कहर बिस्तारै कम भइरहेकोले अब पर्यटन क्षेत्र पनि पुर्ण रुपमा संचालन गर्नु पर्ने बताउँछन । सौन्दर्यताको चर्चा धेरै भएकोले अब पर्यटकहरु आउने बातावरण सरकारले बनाउनु पर्ने उनको धारणा छ ।

त्यस्तै रमदा इन्कोरकी मार्केटिङ म्यानेजर प्रज्ञा खनाल पनि कोरोनाको कारण थलिएको पर्यटन क्षेत्रले अब गति लिने विश्वास गर्छिन । नेपालमा आउने अधिकांश पर्यटक भारत र चीनका भएकोले भारत चीनका पर्यटकहरुका लागि सहजता प्रदान गर्नुपर्ने उनको धारणा छ । कोरोनाका कारण डेढ वर्ष यता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइदिने उनको विश्वास छ ।

कोभिडको दोस्रो लहरपछि नेपालको पर्यटन क्षेत्रमा सकारात्मक गतिविधि बढ्ने अपेक्षा थियो । अझै पनि तेस्रो लहरको जोखिम कायमै रहेकाले पर्यटक र पर्यटकीय गतिविधि आक्रमक रुपमा बढ्ने अवस्था छैन । सरकारले पर्यटन नीति खुकुलो नबनाउँदा यतिखेर पर्यटकले धमाधम बुकिङ रद्द गरिरहेका छन् । बुकिङ रद्द भएपछि व्यवसायी थप निरास भएका छन् ।