Breaking

हर्कलाई किन चढ्यो माथ?फेसबुकभरि छाडा बोल्दै, बालेन र हर्कबीच यस्तो छ फरक ? हर्कका अनेक हर्कत


काठमाडौँ — अहिले काठमाडौं र धरानका मेयरबीचको टकराव सामाजिक सञ्जालभर छताछुल्ल छ ।एउटाविरुद्ध अर्काे खनिएपछि समर्थक पनि विभाजित बनेका छन् । तर स्वतन्त्रको हुँकार लगाएर निर्वाचन जितेका उनीहरुमाथि गम्भीर प्रश्न उठेको छ । धरानका मेयर हर्क साम्पाङ भुइँबाट उठेका मान्छे हुन् ।

आजभन्दा झण्डै दश बर्षअघि धरानका चोक, सडक र गल्लीहरुमा कराउँदै हिड्दा उनका अघिपछि झिंगो प्यूसो थिएन । गत स्थानीय तहको निर्वाचनमा समेत उनलाई साथ दिने कोही भेटिएन । एउटा अटोमा माइक झुण्ड्याएर उनी प्रचारमा निस्किँदा फोटो भिडिओ खिचिदिने सहयोगीसमेत थिएन् ।

आन्दोलनले जन्माएको एउटा योद्धालाई जब धरानले पत्यायो, उनी सडकबाट कुर्सीमा पुगे तब मात्र मिडियाले देख्यो । समर्थन चुलियो, अहिले हर्क देशभर फैलिएका छन् । तर बालेन निर्वाचनको ६ महिनाअघिमात्रै मैदानमा आए । तर उनीसँगै समर्थनको आँधीबेहरी पनि आयो । मिडिया ब्राण्डिङकै कारण बालेन बलिया बने । तथापी निर्वाचन जित्न उनको तयारी पाँचबर्ष पहिलेकै थियो ।

बालेन योग्यता र क्षमतामा अब्बल भएपनि सामाजिक अनुभवका आधारमा कमजोर छन् । हर्क समाजबाटै उठेका कारण उनी पहिले समाज बुझ्छन् । यसकारण उनीहरुबीचको धरातलीय यथार्त फरक छ । लौरो चुनाव चिह्न पाएकै कारण उनीहरु एकै हुन् भन्नु जायज होइन् । तर अहिले लौरोविरुद्ध लौरो बजारिएको छ । काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर धरानका साम्पाङले बालेनविरुद्ध जथाभावि लेख्न र बोल्न थालेपछि सामाजिक सञ्जाल तात्तिएको छ । हर्कका यस्ता अस्वभाविक हर्कतले समर्थकहरु पनि चिढ्ढीन थालेका छन् ।

गत आइतबार साम्पाङ काठमाडौं आएका थिए । काठमाडौंमा पहिलो पाइला टेक्नवित्तिकै बालेनविरुद्ध एकपछि अर्काे प्रहार गर्न थालेसँगै सामाजिक सञ्जालभरि पक्ष÷विपक्षमा मत व्यक्त भए । तर आफु काठमाडौं आएकै कारण फोहोर उठेको भन्दै साम्पाङले व्यङय गरेपछि बालेनले फेसबुकमै जवाफ फर्काए । तपाईँकै लौरो चिन्हबाट मैले चुनाव जितेको हो भन्दै प्रतिवाद गरेपछि साम्पाङ झन उग्र बने । उनीहरुको सवाल जवाफ गर्नेलाई भन्दा देख्नेलाई लाज भयो ।

किनकि त्यसपछि पनि साम्पाङ रोकिएनन् । बालेनलाई फोहोर उठाउन नसक्ने नालायकदेखि उनको मुखबाट तथानाम निस्किरह्यो । त्यसयता बालेनले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर साम्पाङको त्यो हर्कत अझै रोकिएको छैन । उनी अझै पनि बालेनमाथि प्रहार गर्नेभन्दै शुक्रबार फेसबुक लाइभमै आएर थप छरपस्ट भएका छन् ।

तर यता हर्क साम्पाङ मेयर रहेको धरानमै फोहोर व्यवस्थापन प्रभावकारी नभएको विषयले उनी आलोचित बनेका छन् । ल्याण्डफिल साइटमा जथाभावी फोहोर फालेकोदेखि त्यही फोहोरमा आगो लगाएर स्थानीयलाई सास्ती दिएको विषयले उनकै कार्यक्षमतामाथि प्रश्न उठाएको छ । यस्तोबेला आफ्नै नगरतिर ध्यानुदिनु भन्ने सुझावसमेत आइरहेका छन् । तर विज्ञहरु सामाजिक सञ्जालमा पोखिएका उनीहरुका कुण्ठा र आक्रोश निर्णायक नभएको बताउँछन् । सामाजिक सञ्जालकै कारण चुनाव जितेका उनीहरु कुनै दिन सामाजिक सञ्जालकै सकिनेतर्फ विज्ञको संकेत छ ।

फोहोर व्यवस्थापनको विषय काठमाडौं र धरानको एकै होइन । ४० लाखबढीको बसोबास रहेको राजधानीको फोहोर व्यवस्थापन यसैपनि विगतदेखिकै समस्या हो ।महानगरको फोहोर महानगरकै कुनै स्थानमा लगेर थन्क्याउँदा समस्या हुने थिएन । तर अरु जिल्लाका अरुनै स्थानीयतहमा व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण छ ।जुन साम्पाङले भनेजस्तो श्रमदानबाटै सम्भव पनि देखिँदैन । जसको दीगो समाधानका लागि बालेन लागिपरेको देखिन्छ ।

तर यही विषयलाई दुई स्वतन्त्रमाथिकै विश्वास उठ्नेगरि टकरावमै उत्रिएपछि उनीहरुको कार्यक्षमता, शैली र नियतीमाथि नै प्रश्न उठेको छ । यस्ता हर्कतले अरुलाई भन्दा पनि उनीहरु आफैलाई गिज्याइरहेको छ ।