Breaking

स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा, सफल होला त स्वतन्त्रको दल ?


प्रमुख राजनीतिक दलहरुप्रति जनताको असन्तुष्टि व्याप्त छ । त्यही असन्तुष्टिको परिणाम स्वरुप स्थानीय निर्वाचनमा केही स्वतन्त्रहरुले विजयको झण्डा गाडे । यो सफलताबाटसंघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार ह्वात्तै बढ्ने देखिएको छ । यो दृष्य हेर्दा तपाईहरुलाई लाग्न सक्ला कि कुनै राजनीतिक दलको कार्यक्रम हो तर नझुकिनस् यो सबै स्वतन्त्रतर्फबाट उठ्ने उम्मेदवार र उनीहरुको पक्षमा उभिने अभियान कर्ताहरु हुन् । आगामी प्रदेश र संघीय चुनावमा स्वतन्त्रमार्फत उम्मेदवारी दिनेहरुले शनिबार ललितपुरमा एक विशेष भेलाको आयोजना गरे ।

पुराना राजनीतिक दलको व्यवहारले दिक्क बनिसकेका नेपाली जनता विकल्पको खोजिमा रहेको महसुस गर्दै उनीहरुले भेलाको आयोजना गरेका हुन् । हालका नेतृत्वले व्यवस्था परिवर्तन गरे पनि पद्धति, प्रवृति सोच र राजनीतिक संस्कारमा परिवर्तन ल्याउन नसकेकोमा उनीहरुको आक्रोश छ । जनताभन्दा कार्यकर्ता बढी भएको देशमा आखिरी के उद्देश्य लिएर भेला गरिरहेका छन् त ? त्यसै भेलाका सहभागी मध्ये एकले भने दलको विकल्प दल नै रहेको पनि बताएका छन् ।

नीति परिवर्तन गर्न एक्लैले सम्भव नहुने भएकाले अहिले भएका दलको विकल्प खोज्न आवश्यक रहेको उनको बुझाई छ । दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसद्मा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने हुँदा दल निर्माण जरुरी भएको उनले बताए । अहिले देश बनाउने हुटहुटी बोकेका कयौं स्वतन्त्र उम्मेदवार जन्मिएका छन् ।

यद्यपि नयाँ दल दर्ता गर्नेहरुमा पनि कमी भने आएको छैन । त्यसमा स्वतन्त्र अभियन्ताहरु पनि थपिने हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसअघि पनि वैकल्पिक शक्ति वा पार्टी भन्दै आउने केही राजनीतिक दल र व्यक्तिहरु असफल भइसकेको इतिहास छ । यस्तोमा भेलाले कस्तो खालको निष्कर्ष निकाल्ला सबैको जिज्ञासा बनेको छ ।