देश

सोलुखुम्बुको दुधकोशी नदीमा बन्यो पक्की पुल, खुम्बुबासीमा उत्साह (भिडियोसहित)


काठमाडौँ – सोलुखुम्बुको ओर्लाङघाटस्थित दुधकोशी नदीमाथि पक्की पुल निर्माण भएपछि खुम्बु क्षेत्रमा खाद्यन्न ढुवानी सहज भएको छ । हिमाली क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुलाई आवतजावतका लागि समेत यस पुल निर्माण भए पश्चात सजिलो भएको छ ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा लगायतका हिमश्रृङखला रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुग्नका लागि भौगोलिक रुपमा कठिनाई थियो । हवाई मार्ग बाहेक पैदल हिड्दै खुम्बु पुग्नुको विकल्प थिएन । तर सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा पर्ने दुधकोशी स्थित ओर्लाङघाटमा मोटरेबल पुल निर्माण भए पछि ढुवानी देखि आवतजावतको सास्ती हटेको छ ।
सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामाग्रीको ढुवानीदेखि घुम्न आउने पर्यटकको लागि राम्रो भएको स्थानीयहरुको भनाई छ ।

पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तुको मूल्यमा कमि आएको हो । मोटरेबल पुल निर्माण भएसँगै जिल्लाकै तल्लो भेगमा उत्पादन हुने अन्न तथा फलफूलहरु विक्रीका लागि पर्यटकीय नगरी खुम्बु पुर्याउन सहज भएको छ । काठमाडौँ तथा तराई क्षेत्रदेखि निर्माण तथा खाद्यन्न सामग्री ढुवानीमा पनि सहज भएको हो । पहिले खच्चड मार्फत हुने अधिकांश ढुवानीहरु अहिले चार पाङग्रे सवारी साधनबाट नै हुने गरेको छ ।

कोरोना महामारीको कारण घटेको पर्यटक पुल निर्माण भएसँगै वृद्धि भएको छ । मौसम बदली हुँदा हवाई उडान समेत प्रभावित हुँदा पर्यटकहरु खुम्बुमै रोकिनु पर्ने समस्या पनि यस पुल निर्माण भएपछि समाधान भएको छ । यस क्षेत्रमा निर्माण भइरहेको सडकको योजना लुक्ला नजिक पुगीसकेको छ ।

खुम्बु गाउँपालिकाका स्थानीय बासिन्दाहरुले पनि पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन् । लगभग सुनसान रहने माप्यदुधकोशी गाउँपालिका क्षेत्रमा सडक बनेपछि खुम्बुको आवतजावतले चहलपहल बढेको छ ।

खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयबासीन्दाहरुको भनाई छ ।