समाचार

सोलुखुम्बुका नेता सोनाम छिरिङ शेर्पाको निधन


काठमाडौँ — सोलुखुम्बुका ज्येष्ठ राजनीतिज्ञ सोनाम छिरिङ शेर्पाको ७१ वर्षको उमेरमा आज निधन भएको छ ।

लामो समय देखि अस्वस्थ रहेका शेर्पाको काठमाडौँस्थित निजि निवासमा निधन भएको हो । तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको राजनैतिक सल्लाहकार समेत रहेका शेर्पा स्वासप्रश्वास सम्बन्धि रोगबाट थलिएका थिए ।

नेपाली काँग्रेसबाट राजनीति सुरु गरेका शेर्पाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लामो समय राजनीति गरेका थिए । वि.सं. २०५१ को संसदीय निर्वाचनमा सोलुखुम्बुबाट काँग्रेस उम्मेदवार बलबहादुर केसीसँग करिब डेढ सयको मतान्तरले मात्रै पराजित भएका थिए ।

पटक पटकको निर्वाचनमा उम्मेदवार बनेका शेर्पा संविधान सभाको दोश्रो निर्वाचनमा भने स्वतन्त्र नागरिक अभियानको नामबाट उम्मेदवार बनेर साढे तीन हजार मत प्राप्त गरेका थिए ।

सोलुखुम्बु जिल्लाको साविकको तामाखानी गाविसमा जन्मिएका शेर्पा पछिल्लो समय भने नयाँ शक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी हुँदै नेकपा समाजवादीमा आबद्ध थिए । उनको पार्थिव शरीर काठमाडौँ रामहिटीस्थित निजि निवासमा राखिएको छ । सोनाम छिरिङका तीन छोरा र एक छोरी छन् । बौद्ध धर्मअनुसार विहीबार शेर्पाको अन्त्येष्टि गरिने भएको छ ।