समाचार

सेज र व्यवसायीबीच विवाद, मूल गेटमै तेर्स्याइए मालवाहक ट्रक


काठमाडौँ — उत्पादित बस्तुको ६० प्रतिशत विदेश निकासीको विषयलाई लिएर विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण र व्यवसायीबीच विवाद भएको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा पहिलोपटक स्थापित तथा सञ्चालित उद्योग शक्ति मिनरल्स प्रालि र प्राधिकरणबीच विवाद सुरु भएको हो ।

विशेष आर्थिक क्षेत्र ऐनबमोजिम उत्पादनको ६० प्रतिशत बाह्य निकासी नगरेको भन्दै सेज प्राधिकरणले मंगलबारदेखि आन्तरिक निकासी रोक लगाएपछि विवाद उत्पन्न भएको हो । आन्तरिक निकासीमा प्राधिकरणले रोकेपछि त्यसको विरोधमा शक्ति मिनरल्सले पनि बुधबारदेखि भारततर्फ गर्दै आएको बाह्य निकासी पनि रोकेको छ । उद्योगका आन्तरिक र बाह्य निकासीका लागि लोड गरिएका मालवाहक ट्रक र अन्य उपकरण सेजको मूल गेटमै खडा गरिएका छन् ।

सेज ऐनअनुसार सेजमा सञ्चालित उद्योगले एक वर्षपछि ६० प्रतिशत उत्पादन बाह्य निकासी गर्नुपर्ने प्रावधान छ । आन्तरिक बजारमा ४० प्रतिशतसम्म बिक्री गर्न पाइन्छ । शक्ति मिनरल्सले चालु आवको पहिलो चार महिनामा बाह्य निकासी ६.५० प्रतिशत मात्रै गरेको जनाएको छ । उद्योगले भने १७ प्रतिशत भएको दाबी गरेको छ ।