राजनीति

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी, ओली पक्ष पनि सहभागी


काठमाडौँ – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरू भएको छ। बुधबार बिहान साढे ८ बजे बोलाइएको बैठक एक घन्टा ढिला सुरू भएको एमाले सुदूरपश्चिमका सचेतक तारा लामा तामाङले बताए।
बैठकमा माधव नेपाल पक्षका १९ जना नै उपस्थित भएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षको तीन जना सहभागी भएका छन्। संसदीय दलका नेता प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बैठक आह्वान गरेका हुन्।

सोमबार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरेपछि दलको बैठक बसेको छ। बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरिसकेको भए पनि प्रदेशमा एमालेका बहुमत सांसद माधव नेपाल पक्षका छन्। उनीहरूले माओवादी केन्द्रकै वर्तमान सरकारलाई समर्थन गर्न सक्ने सम्भावना छ। एमाले सुदूरपश्चिम कमिटीले भने सरकारबाट फिर्ता नआउने मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएको छ।