राजनीति

सुदूरपश्चिममा एमालेका ६ मन्त्रीलाई निष्काशन गर्न सिफारिस


काठमाडौँ – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाही सिफारिस गरेको छ ।

२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाही गर्न एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

प्रदेश कमिटिका सचिव राजेन्द्र रावलले भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न सिफारिस गरिएको जानकारी दिनुभयो ।

एमालेको प्रदेश कमिटिले यसअघि प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलार्ई पनि साधारण सदस्य नरहनेगरी निष्कासन गर्न सिफारिस गरिसकेको छ ।

एमालेले प्रदेशसभामा रहेका १० जना सांसदमाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।