Breaking

सिन्धुपाल्चोक १मा गठबन्धनबाट सापकोटा र बस्नेतको दाबि, कसले पाउला त टिकट ?


काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनमा हेभी वेट भिडन्त हुने क्षेत्रमध्ये एक हो सिन्धुपाल्चोक क्षेत्र नम्बर १ । नेकपा माओवादी केन्द्रबाट सभामुख अग्निप्रसाद सापकोटा र नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको निर्वाचन क्षेत्र हो यो । सत्तारुढ पाँच दलबीच तालमेल हुने पक्कापक्की जस्तै भएको छ । यद्यपि यो क्षेत्रबाट गठबन्धनले सापकोटा र बस्नेतमध्ये कसलाई उम्मेदवार बनाउँछ भन्ने प्रस्ट भइसकेको छैन । सिन्धुपाल्चोक १ मा गठबन्धनभित्र नेकपा माओवादी केन्द्रबाट सापकोटा र काँग्रेसबाट बस्नेत बाहेक अरु नेताले दाबी गर्ने अवस्था छैन । तर, गठबन्धन हुने भएमा उक्त निर्वाचन क्षेत्रमा माओवादी केन्द्र वा काँग्रेसमध्ये कसले उम्मेदवारी दिने भन्नेमा प्रतिस्पर्धा हुने भएको छ ।

सभामुख भएकाले राजनीतिक गतिविधि र कार्यक्रममा हिँड्न पाइदैन । अरु जिल्लाको सामाजिक कार्य र विकास निर्माणको कार्यमा सक्रिय हुनुहुुन्छ, सभामुख सचिवालयका एक सदस्यले भने, तर, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा लड्ने भनेर तयारी गरिरहनु भएको छ । अरु राजनीतिक भेटघाट र छलफल जारी राख्नु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डको विश्वास पात्र भएकाले पनि सभामुख सापकोटाले गठबन्धनबाट टिकट पाउने बलियो सम्भावना छ ।

तर काँग्रेसका नेता बस्नेतले गठबन्धनबाट चुनाव लड्ने भनेरै गतिविधि जारी राखेका छन् । यदि पार्टीले गठबन्धनबाट आफूलाई उम्मेदवार नबनाए आफू बागी उठ्ने उनको चेतावनी छ । यसअघि पार्टीको केन्द्रीय समिति बैठकमा बस्नेतले पार्टीले टिकट नदिए बागी उठ्ने बताइसकेका छन् । बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट भएकाले उनी समेत सशक्त दाबेदार हुन् । त्यसैले सिन्धुपाल्चोक १ बाट आगामी चुनावमा सापकोटा र बस्नेतमध्ये गठबन्धनबाट कसले टिकट पाउँछन् भन्नेमा कौतुहलता बढेको छ ।