समाचार

सिन्धुपाल्चोकमा अहिलेसम्मकै ठूलो बाढी, मेलम्ची बजार जलमग्न


काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी–पहिरोले तहसनहस गर्न थालेको छ । पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोक, बाजुरा र गोरखामा बाढीले १० जना बेपत्ता बनाएको छ ।

अविरल वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले हालसम्म बाढीबाट सात जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । मृतकको पहिचान खुलेको छैन ।

बाढीले मेलम्ची बजारमा पनि क्षति पु¥याएको छ । मेलम्चीमा भने मानवीय क्षतिको विवरण नभएको पोखरेलले बताउनुभयो । नेपाली सेना र निजी एअरलाइन्सका हेलिकप्टर उद्धारका लागि परिचालन गरिएको छ । घरका छतमा रहेकाहरूको उद्धार गर्न लागिएको उहाँले बताउनुभयो । सडक मार्गबाट पनि उद्धारका लागि टोली परिचालन गरिएको छ ।

मेलम्ची घ्याङमाथि नाम्साङसाङ क्षेत्रमा गएको ठूलो पहिरोले मुहान थुनेपछि मेलम्ची खोलामा बाढी आएको हो । लगातारको वर्षाका कारण त्यहाँ टेलिफोन सेवा अवरुद्ध भएको छ ।