समाचार

सिटामोल लुकाउने फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना


काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोल लुकाउने एक फार्मेसीलाई कारवाही गरेको छ ।

बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने सातदोबाटोमा रहेको गोसाइंकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई विभागले १० हजार जरिवाना गरेको हो । केन्द्रमा विभागले छड्के कारवाही गरेको थियो । विभागको छड्के अनुगमनको क्रममा ग्राहकलाई सिटामोल छैन भनेका थिए ।

तर, गोदाममा भने सिटामोल भेटिएपछि कारवाही गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले जानकारी दिनुभयो । विभागले १० हजार जरिवाना गर्नुका साथै सचेत समेत गराएको छ । केही दिनयता ज्वरोका बिरामी बढेसँगै सिटामोलको माग उच्च भएको छ ।