खेलकुद

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली आज प्रस्थान



काठमाडौँ – बंगलादेशमा आयोजना हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । उपाधि जित्ने लक्ष्य बनाएको टोलिलाई हिजै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले औपचारिक विदाई गरेको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षकमा हरि ओम श्रेष्ठ रहेका छन् । उनले च्याम्पियनसिपमा टिमको लक्ष्य उपाधि रहेको बताए । नेपाली टोलीका कप्तान तथा गोलकिपर अन्जना राना मगरले पनि टिमको लक्ष्य च्याम्पियन बन्ने रहेको बताईन् । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् ।

जसमा ६ जना राष्ट्रिय टोलीमा रहिसकेका खेलाडी छन् । च्याम्पियनसिपमा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्नेछ ।

राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ । राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल डिसेम्बर २२ मा हुनेछ ।