मनोरञ्जन

साझा उम्मेदवार तय गर्न दबाब दिँदै प्रकाशमान सिंहको घरमा प्रदर्शन


काठमाडौँ — संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा काँग्रेसका युवा नेताहरूले प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापन इतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलबार राजेन्द्र बजगाइँको नेतृत्वमा आधा दर्जन बढीको सङ्ख्यामा भेला भएका युवा नेताहरूले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले काँग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन माग गर्दै आफूहरूले प्रदर्शन गरेको बताए ।

नेताहरूले त्याग गरेर भए पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडी लानुको विकल्प नभएको उहाँको भनाई छ । उनले भने – ‘पार्टी सभापतिदेखि सबैमा एकताको प्रयास गर्नु छ ।

काँग्रेसलाई सकेसम्म एकताबद्ध बनाएर यो महाधिवेशनमा एकताको महाधिवेशनको रूपमा अगाडी बढाउनुस् भन्ने हाम्रो चाहानाले आज हामी यहाँ उपस्थित भएका हौँ । देशभरिका कार्यकर्ताको एकताबद्ध होस् भन्ने चाहाना छ । त्यसलाई मनन गरेर उहाँहरूले त्याग पनि गर्न सक्नुपर्छ । र एकताबद्ध बनाएर अगाडी लानुको विकल्प छैन ।’