अर्थनीति

साउन महिनामा ३ कम्पनीको आईपीओ भर्न पाइने


काठमाडौँ – साउन महिना भित्र ३ वटा कम्पनीको साधारण शेयर (आईपीओ) खुल्ने भएको छ ।

मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ र मानुषी लघुवित्तको आईपीओ यही महिना निष्काशन खुल्ला हुने भएको हो । मैलुङ खोलाको साउन १४ गते, सानिमा लाइफको साउन २० गते र मानुषी लघुवित्तको साउन २७ गते आईपीओ निष्काशन खुला हुने भएको हो ।

मैलुङ खोलाको ७ करोड ३६ लाख २८ हजार ६०० रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता, सानिमा लाइफको ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तको ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन हुन लागेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको ७ करोड ३६ लाख रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) साउन १४ गतेदेखि निष्काशन खुला हुने भएको छ । आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ । न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड रुपियाँ बराबरको आईपीओ साउन २० गतेदेखि निष्काशन खुला हुने भएको छ । कम्पनीको प्रतिशेयर एक सय रुपियाँ अंकित दरका ६० लाख कित्ता आईपीओ निष्काशन हुन लागेको हो ।

कुल निष्काशन हुने ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको कम्पनीले जनाएको छ । बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त शेयर गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

उक्त आइपीओमा साउन २० गतेदेखि छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसैगरी मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ साउन २७ गतेदेखि निष्काशन खुला हुने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । उक्त शेयर गोलाप्रथाबाट ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाउने छन् ।

आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।