समाचार

सवारी लाइसेन्सको आवेदन खुल्दै


काठमाडौँ – झण्डै सात महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुल्ने भएको छ । यातायात व्यवस्था विभागले कोभिड-१९ का कारण रोकिएको नयाँ आवेदन खोल्न लागेको हो ।

नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन सेवा बन्द गरेको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले तिहारअघि नै नयाँ आवेदन खुला गर्ने बताए ।

‘एक साताभित्र नयाँ आवेदन खुल्छ, त्यसपछि भर्न सकिनेछ’‚ उनले भने । विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि फ्रान्सबाट १४ लाख थान स्मार्ट कार्ड पनि ल्याउन लागेको छ ।

विभागका अनुसार नयाँ र नवीकरण गरिएको करिब ७ लाख कार्ड छाप्न बाँकी छ। विभागले स्मार्ट कार्डको मौज्दात सकिएपछि २०७७ फागुन महिनाबाट कार्ड छापेको थिएन ।