समाचार

सर्लाहीको सरकारी विद्यालयको हरिविजोग, कम्पाउण्ड नै माछा मार्ने थलो (भिडियोसहित)


काठमाडौँ – प्रायः विपन्न परिवारका विद्यार्थी अध्ययन गर्ने सर्लाही जिल्लाको एक सरकारी विद्यालयको अवस्था निकै दयनीय बनेको छ । जिल्लाको सदरमुकाम मलंगवा नजिकै र नेपाल भारत सीमा छेउमै पर्ने ब्रह्मपुरी गाउँपालिका वडा न– ४ त्रिभुवननगर स्थित सुरज जनता माध्यमिक विद्यालयको अवस्था दयनीय बनेको हो ।

वि.सं २०२७ सालमा स्थापना भएको सर्लाही जिल्लाको सुरज जनता माध्यमिक विद्यालयको पुरानो संरचना भत्केर जिर्ण बनेको छ । जताततै भवनका भित्ताहरु चर्किएर लड्ने अवस्थाका छन् । न त यो भवनको बिकल्पमा अर्को कुनै नयाँ भवन नै बनाइएको छ न त यससम्बन्धी कुनै तयारीनै गरेको छ ।

बस्तीको बिचमा अवस्थित यो विद्यालय स्थापना कालदेखि नै कम्पाउण्ड विहिन छ । कम्पाउण्ड नहुँदा स्थानीय गाउँलेहरु आ–आफ्ना पशुचौपाया लगेर चराउने र बाँध्ने गरेका छन् । वर्षाको समयमा यस विद्यालयको अवस्था एकदमै नाजुक हुने गरेको छ । होंचो स्थानमा रहेका कारण विद्यालयको कम्पाउण्डमा घुँडासम्म पानी जमेर पोखरी बन्ने गरेको विद्यार्थीहरुले बताएका छन् ।

बाहिरको पानी कक्षा कोठामा छिरेर वर्खाभरी नै पढाइ अवरुद्ध हुने गरेको विद्यालयका एक शिक्षकले बताए । वर्षा सुरु भएपछि चौरमा पानी जम्ने, कक्षाकोठाको छत चुहिने, छत तथा भित्ताहरु चर्किएका कारण कतिबेला लडेर दुर्घटना हुने हो भन्ने डरले विद्यार्थीहरु आउन छाडेपछि दुई–तीन महिनासम्म विद्यालय बन्द रहने गरेको उनले बताए ।

सरकारले शिक्षा नितीमा सुधारका निम्ति विभिन्न कार्ययोजनाहरु ल्याएपनि यस विद्यालयमा भने कुनै प्रभाव परेको देखिदैन । गाउँपालिका र वडा कार्यालयले पनि यसको सुधार तथा व्यवस्थापनका लागि कुनै पहल गरेका छैनन् । विगत ४ वर्षदेखि यस विद्यालयमा व्यवस्थापन समितिको चयन भएको छैन । विद्यालयका प्रधानाध्यापक दिनेश महतोले विद्यालयको स्थिती दयनिय रहेको स्विकार गरे । उहाँले स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका र वडा कार्यालयले व्यवस्थापनका निम्ति पहलकदमी नगरेकाले विद्यालयको अवस्था दयनीय बनेको आरोप लगाउनु भयो ।

यस विद्यालयमा १३ जना शिक्षक–शिक्षिका र एकजना कार्यालय सहयोगी कार्यरत रहेका छन । विषयगत शिक्षकको समेत कमि रहेकाले एउटै विषय ३ –४ जना शिक्षकहरुले पढाउँदै आएका छन् । अंग्रेजी, नेपाली , गणित, विज्ञान लगायतका मुख्य विषयको शिक्षक नहुँदा अन्य विषयका शिक्षकले ती विषय पढाउने गरेको विद्यार्थीहरुले बताए ।

स्थानीय अभिभावक राम ईश्वर साहले सुरज माद्यामिक विद्यालय धेरै पुरानो विद्यालय रहेकोले त्रिभुवननगर र आसपासका केही गाउँका विद्यार्थीहरु मावि तहसम्मको पढाइको लागि यसै विद्यालयमा जाने गरेको बताउनुभयो । पहिले देश जनप्रतिनिधि बिहिन बन्दा यो विद्यालयको अवस्था लथालिङ्ग अवस्थामा रहेको थियो ।

अहिले स्थानीय सरकारको मातहतमा आएपनि अवस्था ज्यू को त्यू रहेको उहाँको भनाइ छ ।
राजनितीक चलखेलका कारण विगत चारवर्षदेखि व्यवस्थापन समितिविहिन बन्दै आएको यस विद्यालयमा तत्काल विद्यालय व्यवस्थापन समिति गठन गरेर सुधार गर्नुपर्ने सबै कामहरु अगाडी बढाउन अभिभावकहरुको संयुक्त माग रहेको छ ।