Uncategorized

सर्लाहीका उखु किसान मिल सञ्चालकविरुद्ध अदालतमा जाने


काठमाडौँ – सरकारले तोकेको समय सीमा नाघिसक्दा समेत भुक्तानी नदिएकाको भन्दै सर्लाहीका उखु किसान मिल सञ्चालकविरुद्ध अदालत जाने भएका छन् । सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिलले लामो समयसम्म किसानको पैसा भुक्तानी नगरेको भन्दै मिल सञ्चालक वीरेन्द्र कनौडियाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामेश्वर राय यादवले बताए ।

संघर्ष समितिका अध्यक्ष यादवका अनुसार महालक्ष्मी सुगर मिलले किसानको ८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। मिलले भुक्तानी नदिएपछि यादव मिल सञ्चालकविरुद्ध मुद्दा दायर गर्न भन्दै मंगलबार काठमाडौं आएका हुन् । उनले भने, ‘किसानले कति आन्दोलन गर्ने ? कति मर्ने ? कति हारगुहार गर्ने ?’

मुद्दा दर्ताका लागि यादवले वकिललाई भेटेर आफूसँग भएका कागजात र प्रमाण बुझाइसकेका छन् ।