समाचार

सरकारको अनुगमन शुन्य हुँदा बजारमा मनपरी (भिडियोसहित)


काठमाडौँ – नेपालीहरुको महान चाड बडादशैँका बेला फलफूलको मूल्य आकाशिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । चाडवाडका बेला व्यवस्यायीले फलफुलको मुल्य एकाएक बढाएपछि उपभोक्ता मारमा परेका हुन् ।

बडादशैका बेला फलफुलको माग उच्च हुने गर्दछ । आफन्त कहाँ टिका लगाउँन जादा खाली हात नपुग्ने र फलफुल लिएर जाने प्रचलन रहेको छ । तर यही समयमा व्यापारीहरुको फलफुलको मूल्य मन लाग्दी बढाएका छन् । काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दशैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको गुनासो गरे ।

यो समयमा बजार अनुगमन पनि हुन सकेको छैन् । उपभोत्ताहरुले फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन् । एक हप्ताअघि मात्र दुई सयमा किनेको स्याउको मूल्य २५० रुपैयाँ भन्दा बढी पुगेको उपभोक्ताहरुको गुनासो छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरु बताउँछन् ।

फलफूल व्यापारीहरुले भने चीनबाट फलफूल नआएकोले महंगो भएको बताउँछन् । फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइदिँदा पनि समस्या आइरहेको उनीहरु बताउँछन् । ब्यापारीहरु नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधनहरु नआउदा केही महंगो भएको तर्क गर्छन् । तर व्यापारी, सरकार र उपभोत्ताबीच समन्वयन हुन नसक्दा चाडपर्वको बीच फलफलको मूल्य आकाशिएको हो ।