कोरोना विशेष

सबै नागरिकले कोरोना विरुद्धको खोप कहिले पाउलान् ?


काठमाडौँ – सरकाले कोरोना विरुद्धको खोपलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताइरहेको छ । तर, खोप पर्याप्त मात्रामा भए पनि नागरिकलाई लगाउन सरकारले तत्परता देखाएको छैन । यता विज्ञहरुले १४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

खोप पर्याप्त मात्रमामा रहेपनि खोप अभियानमा भने सरकार अलमलमा परेको देखिन्छ । हालसम्म नेपालमा ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको छ । यी मध्ये सरकारले खरिद गरेको भन्दा बढि अनुदानमा आएको छ । तर, यति धेरै खोप छ र पनि सरकारले खोप अभियानमा भने निरन्तर दिन सकेको छैन । यसले गर्दा खोप भण्डारणमा पनि समस्या देखिन्छ । यता विज्ञले भने १४ वर्ष माथिको उमेरका सबै नागरिकलाई कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था तत्काल गर्न आग्रह गरेका छन् ।

त्यसैगरी चिकित्सक डा. सागर भण्डारीले नेपालमा एक महिना भित्रै कोरोनाको तेस्रो लहर आउन सक्नेतर्फ सचेत गराए । उनले तेस्रो लहरबाट जनतालाई बचाउन तीनै तहको सरकार गम्भीर भएर स्वास्थ्य सुरक्षाका मापदण्डँगै खोपलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए ।

वरिष्ठ चिकित्सक डाक्टर वासुदेव पाण्डेले कोरोनाविरुद्धको खोप नेपालमै उत्पादन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । खोपको उत्पादन देश भित्रै हुन नसके यसले भयावह रुप लिने उनको तर्क थियो ।

चिकित्सकहरुले सरकारले निषेधाज्ञालाई खुकुलो बनाएर कोरोना संक्रमणको दर बढ्न थालेको भन्दैै चिन्ता व्यक्त गरेका छन् । भएको खोपलाई सकेसम्म आमनागरिकलाई लगाउनु आवश्यक छ ।

कोरोनाको तेस्रो लहर नेपालमा आउने सम्भावना बढेर गएकोले त्यस्तो भयावह अवस्था आउन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड नागरिकले पालना गरे÷नगरेको विषयमा कडा अनुगमन गर्न सरकारले गृह मन्त्रालय र स्थानीय तहको सरकारलाई जिम्मेवार बनाउनु पर्दछ ।