Breaking

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ


काठमाडौँ – क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो ।

दोहाबाट काठमाडौँ आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो । सन्दीपलाई अहिले महानगरीय प्रहरी बृत्त गौशाला लगिएको छ । उनीविरुद्ध गौशाला बृत्तमै बलात्कारसम्बन्धी जाहेरी परेको थियो ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौँको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौँको होटेल काठमाडौँ इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ । सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।

प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमाण संकलन गरिसकेको छ । प्रमाणका रूपमा सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटेलका कर्मचारीको बयानलाई राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।