Breaking

सत्ता गठबन्धनले जनताको स्वतन्त्र छनोटलाई अवरोध गर्‍यो: प्रदीप ज्ञवाली


काठमाडौँ — नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका निम्ति दल दर्ता गरेको छ । निर्वाचन आयोगमा पुगेर एमालेले १० औं नम्बरमा दल दर्ता गराएको हो । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र लिएर दल दर्ताका निम्ति महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता कृष्णगोपाल श्रेष्ठलगायत आयोग पुगेका थिए ।

दल दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव ज्ञवालीले चुनावमा आफ्नो पार्टीलाई कुनै गठबन्धनको आवश्यकता नरहेको बताए । एमाले अझै बलियो रहेको जिकिर गर्दै उनले भने, ‘कमजोर शक्तिले मात्रै गठबन्धन गर्ने हो । गठबन्धन सामर्थ्यको प्रतीक होइन । बलियोलाई वैशाखीको आवश्यकता पर्दैन । विचारमा मिश्रित शक्तिबीच सहकार्य गरेर सत्ता गठबन्धनले विचारको स्वस्थकर प्रतिस्पर्धालाई रोकेको ज्ञवालीको टिप्पणी छ ।

उदार कांग्रेस, उग्र माओवादी, क्षेत्रीय दल र संघीयताविरोधी राष्ट्रिय जनमोर्चाको गठबन्धनले विचारको स्वतन्त्र छनोट गर्न पाउने जनताको अधिकारमा अवरोध पुर्‍याएको छ। यस्तो गठबन्धनले लोकतन्त्रको दीर्घकालीन हित गर्दैन,’ ज्ञवालीले भने । प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनबाट जनताले मुलुकमा एमालेको नेतृत्व स्थापित गर्ने विश्वास रहेको ज्ञवालीले बताएका छन् ।