पर्यटन

सगरमाथा क्षेत्रमा जाने पर्यटकलाई ट्रेक कार्ड अनिवार्य


काठमाडौँ — खुम्बु क्षेत्रको भ्रमणमा जाने पर्यटकले अब अनिवार्य रुपमा ट्रेक कार्ड लिनु पर्ने भएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले यस्तो प्रावधान ल्याएको हो । गाउँपालिकाका अनुसार सगरमाथा क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन यस्तो कार्य अनिवार्य गरिएको हो । यो कार्ड विदेशी पर्यटकलाई अनिवार्य गरिएको गाउँपालिकाले जनाएको छ । यस्तो कार्ड लिएका पर्यटकले अब इन्ट्री प्वाइन्टमा लामो समयसम्म लाइन बस्नु पर्ने झन्झट हट्ने गाउँपालिकाले उल्लेख गरेको छ ।

पहिलो चरणमा लुक्ला, टोकटोक र नाम्चेमा यो सेवा सुरु हुने र क्रमशः सबै चेकपोइन्टमा यो सेवा उपलब्ध गराइने गाउँपालिकाले उल्लेख गरेको छ । यो सेवा लिएवापत कुने अतिरिक्त शुल्क भने लाग्ने छैन । सेवा भने सबै विदेशी पर्यटकले अनिवार्य लिनु पर्ने गाउँपालिकाको भनाइ छ ।

यो कार्ड ट्रेकिङ एजेन्टले आफ्नै अफिसबाट बुक गर्न सकिने प्रणाली विकास गर्ने स्थानीय तहले जनाएको छ । त्यस अगाडि तत्कालका लागि भने पर्यटकले पासपोर्ट गाउँपालिकाले पर्यटन शूल्क उठाउने काउन्टरमा बुझाएपछि कार्ड प्राप्त गर्ने भएका छन् । यो सिस्टम २७ सेप्टेम्बरबाट कार्यान्वयनमा आएको हो ।