Breaking

संसद बाहिरबाट पनि जनताको सेवा गर्न सकिन्छ: बाबुराम भट्टराईको


काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ । अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको हो । उहाँले सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताउनु भयो ।

उहाँले राजनीति जनता र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गर्दै संसद बाहिरबाट पनि जनताको सेवा गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले नेताहरु जसरी पनि संसदमा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृतिले देशमा ठूलो विकृति र विसंगति ल्याएको बताउनु भयो । उहाँले सदन बाहिरबाट गरिने कर्मपनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सक्रिय राजनीति गर्ने मान्छेले चुनाव नलड्ने यो नै रोचक प्रश्न हो । किनकी राजनीति भनेको चुनाव मात्रै हो, सत्ता मात्रै हो भन्ने जुन पर्न गयो, खासगरी ढिलो लोकतान्त्रिकरण भएको नेपालमा यो अत्यन्त विडम्बनापूर्ण कुरा छ । राजनीति भनेको समाज रुपान्तरणको निम्ति गरिने, जनताको र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म हो । त्यसका निम्ति सत्ता, चुनाव भनेका ति एउटा मध्येको साधन हो । त्यो मात्रै होइन ।

विभिन्न ढंगले जनपरिचालन, जनदबाब, जनचेतना जघाउने र राज्यका अंगहरुका विकृति, विसंगति छन् त्यसलाई हटाउने, लोकतन्त्रका अपूर्णता जस्ता कुराहरुलाई सुधार गर्ने आदिको निम्ति सदनबाट आवाज उठाउने एउटा पक्ष हो । मुख्य पक्ष भनेको सडकबाट, जनस्तरबाट जनअभियान सञ्चालन गर्ने कुरा हो । र सरकारमा गएर गर्ने भनेको त एक्ज्युकेटिभ फङ्शन मात्रै हो । त्यसैले यि तीनवटा कुराको समुचता राजनीति हो । तर हामीकहाँ जसरी पनि संसदमा पुग्ने र जसरी हुन्छ, पाएसम्म मन्त्री र कार्यकारी हुने भन्ने जुन प्रवृत्ति आयो । यसले देशमा ठूलो विकृति, विसंगति ल्यायो । लोकतन्त्रलाई आघात ग¥यो भनेर नै मैले अलि पहिलेदेखि नै हामीले यसमा सुधार गर्नुपर्छ । र हामी पटक–पटक लामो समयदेखि सांसद भएका, कार्यकारी भुमिकामा रहिराखेका मान्छेहरुले त्यो मात्रै राजनीति हो भन्नु हुँदैन । हामीले सदन बाहिरबाट, सरकार बाहिरबाट गर्ने जुन कर्म हो । त्यो पनि राजनीति हो भन्नुपर्छ भन्दै आएको थिएँ । त्यही क्रममा नै मैले अलि पहिलेदेखि सोच्दै आएको थिएँ । अब यो उपयुक्त बेला हो । मैले नै पहल गर्नुपर्छ भनेर मैले गरेको हुँ ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफू पार्टी काममा भने निरन्तर रहने बताउनु भयो । उहाँले आफू समाजवादी धार बनाउन क्रियाशिल हुने पनि बताउनु भयो । उहाँले राज्यका अंगहरुमा भइरहेको भ्रष्टिकरण, शासकीय स्वरुपमा परिवर्तन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सवालमा आफू संसदबाहिरको सबै ठाउँबाट क्रियाशिल हुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले गरिबी र बेरोजगारीको समस्या समाधानमा सुधार गर्न पनि आफूले आवाज उठाउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बाबुराम भट्टराईलाई तपाईंले जनताको बीचमै देख्नुहुन्छ । म त्यसमै क्रियाशिल भइराखेको हुन्छु । हामीले एउटा नयाँ वैकल्पिक राजनीतिक धार, समाजवादी धार निर्माण गर्ने हाम्रो प्रयत्न पनि जारी छ । नेपालको पिछडिएको अर्थ सामाजिक संरचना, भूराजनीति यो सबैलाई सम्बोधन गर्नको निम्ति हामीले समावेशी सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवादी धार उपयुक्त हुन्छ भन्ने कुरामा हामी सोचले लागेका छौँ ।

म पार्टीमा सक्रिय हुन्छु । म पार्टी निर्माण गर्ने क्रममा, यो राजनीतिक अभियानलाई अगाडी बढाउने कुरामा एकापट्टी सक्रिय हुन्छु । अर्कोपट्टी देशको मुख्य समस्या भनेको गरिबी र बेरोजगारी नै हो । पीछडिएको आर्थिक, सामाजिक संरचना नै हो पहिलो । दोस्रो राज्यका अंगहरुमा जुन खालको भ्रष्टिकरण, विकृतिकरण आएको छ, त्यसलाई सुधार गर्ने कुरा छ । तेस्रो कुरा लोकतन्त्रको अपूर्णता, शासकीय स्वरुप नेपालमा जुन हामीले चलाएका छौँ ।

मिश्रित प्रकारको संसदीय व्यवस्था जस्तो । त्यसले गर्दाखेरी राजनीतिक स्थिरता दिँदैन । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद चाहिन्छ भन्ने कुरा मैले शुरुदेखि भनेको थिएँ । त्यो विषयमा मैले आवाज उठाउँछु । र चौथो कुरा जुन जटिल भूराजनीति छ । खासगरी भारत, चिनका बिचमा हामी छौँ । विश्व महाशक्तिहरुको पनि यहाँ चासो छ । त्यस्तो अवस्थामा एउटा राष्ट्रिय नीति हामीले लिएर कसरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने भन्ने जुन कुरा छन् । यि विषयमा म निरन्तर क्रियाशिल हुन्छु र तपाईंहरुले मलाई संसद बाहिरका सबै स्थानमा तपाईहरुले पाउनुहुन्छ ।’

भट्टराईले आफूले संसदीय निर्वाचनमा उम्मेदवार नहुन गरेको निर्णय कुनै पदलाई बार्गेनिङ गर्नका लागि नभएको स्पष्ट पार्नुभयो । आफूले कुनै च्याखे नथापेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘छिटो भन्दा छिटो कसरी यो देशलाई मध्यमस्तरसम्म पु¥याउने त भन्ने मेरो परिकल्पना हो । त्यसो भएको हुनाले म सक्रिय ढंगले लाग्छु । कुनै पदलाई बार्गेनिङ गर्नको लागि यो च्याखे थापेको भन्ने कसैले बुझ्छ भने अत्यन्त पीछडिएको चेतना हो । त्यसबारे मेरो भन्नु केही पनि छैन ।’

उहाँले आफूले छोरी मानुषी यमी भट्टराईको लागि ठाउँ खालि गर्नका लागि सो निर्णय नगरेको पनि स्पष्ट पार्नुभयो । छोरी काठमाडौंबाट निर्वाचनमा उठ्ने उहाँले बताउनु भयो । छोरी आफैँ स्थापित रहेको भन्दै आफ्नो नामबाट छोरीलाई चिनाउनु जरुरी नभएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नयाँ त भनिराखेको छ मान्छेले विचार सहितको नयाँ पुस्ता आइराखेको छैन । त्यसैले विचार सहितको नयाँ पुस्ता आओस् भन्ने त मेरो चाहाना छ । त्यो भनेको मेरो छोरी भन्ने मात्रै अर्थ लाग्दैन । हाम्री छोरी पनि जतिबेला उनी सचेत भइन् आफ्नै स्वेच्छाले आन्दोलनमा उनी लागिन् । उनी ३७ वर्ष भईन् ।

करिव २२ वर्ष त उनको आफ्नै राजनीतिक जीवन भइसकेको छ । र उनी आफैँ स्थापित छन् । हाम्रो छोरीको रुपमा उनलाई चिनाउनु पनि जरुरी छैन । त्यसकारण त्यसमा सत्य छैन । दोस्रो मेरो निर्वाचन क्षेत्र गोरखा, हिसिलाजी त काठमाडौंको हो । वास्तवमा छोरी त हिसिलाजीको छोरी बढी हो काठमाडौंको हिसावले भन्दा । त्यसैले उनी काठमाडौंमा लडिराखेकी छन् भने मैले उनको निम्ति छोड्नुपर्ने त्यहाँ कुनैपनि कारण छैन । यसमा सत्यता छैन ।’ पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो सत्तारुढ गठबन्धनमै रहेको बताउनु भयो । निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म गठबन्धनकै अंग छु अहिले । त्यो राम्रो होस् । सफल होस् । कमसेकम प्रतिगमनतिर देश नजाओस् । संविधानबाट प्राप्त उपलब्धि छन् त्यो नगुमुन् भन्नेमा म छु । मेरो शुभकामना यो गठबन्धन कायम रहनुपर्छ । यसले चुनावमा विजय हासिल गरोस् भन्ने मेरो शुभकामना ।’

उहाँले समकक्षी नेताहरुलाई लोभ, लालच नगरीकन नयाँ पुस्तालाई अगाडी ल्याउन आग्रह गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले राष्ट्रिय मुद्दाहरुमा दलहरुका बीचमा एकरुपता कायम गर्नुपर्ने बताउनु भयो । उहाँले दलहरुको विकल्प स्वतन्त्र हुन नसक्ने भन्दै दलका कमजोरी दलबाटै हटाउनुपर्ने र नेताको कमजोरी राम्रो नेताले हटाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘शासकिय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानको निम्ति मैले जनअभियानको नेतृत्व गर्छु । त्यसको पहल गर्छु । मेरो समकक्षी मेरो पुस्ताका साथीहरुलाई मेरो आग्रह छ, हामीले यत्रो त्याग र बलिदान गरेर यहाँसम्म यो व्यवस्था ल्यायौँ । तर अब हामीले लोभ, लालच नगरीकन यो प्रणालीमा सुधार गर्ने र नयाँ ढंगले पुस्तान्तरण गरेर नयाँ पुस्तालाई अगाडी ल्याउने र देशमा एउटा सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनताका मुद्दा यसमा राष्ट्रिय सहमती बनाउने ।

त्यो दिशातर्फ जानुपर्छ । राष्ट्रिय रुपमा मुद्दाहरुमा एकरुपता कायम गर्ने, बहुदलीय प्रतिष्पर्धा नै हुनुपर्छ । त्यसको विकल्प छैन । कतिपयले अहिले स्वतन्त्र भन्ने लहर आइराखेको छ । स्वतन्त्र भन्ने कुरा हुँदैन दुनियाँमा । आखिर दल नै हो । दलका कमजोरी दलबाटै हटाउनुपर्छ । नेताका कमजोरी राम्रो नेताले हटाउनुपर्छ ।

दलको विकल्प व्यक्ति हुन सक्दैन । त्यस अर्थमा पनि म यो अभियानमा लागिराख्छु । नो भोटको व्यवस्था पनि हुनुपर्छ । राम्रो दल र राम्रो नेता आउनुप¥यो । दलको विकल्प व्यक्ति भनेर जाँदाखेरी त्यसले अराजकता मात्रै ल्याउँछ ।’ उहाँले पूर्वप्रधानमन्त्रीहरुलाई पटक–पटक सांसद बन्ने अपेक्षा नराख्न भन्दै पूर्वप्रधानमन्त्रीहरुले निर्वाचनमा नउठि पार्टीभित्रको राजनीतिक कामहरु गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी पूर्वप्रधानमन्त्री भइसकेका मानिसहरुले आफ्नै पार्टीभित्र राजनीतिक कामहरु गर्ने नि । अरु साथीहरुलाई संसदीय दलको नेताहरुमा अगाडी सार्ने त्यो पनि गर्न सकिन्छ । दलहरु बिग्रनुको पछाडी खासगरी कम्युनिष्ट, समाजवादी पार्टीहरुमा सत्ताभन्दा जनपरिचालन र पार्टीको काम प्रमुख हो भन्ने हुन्छ । तर हामी सबै सत्तामा जाँदा बिग्रियो ।’डा. भट्टराईले पुरानै शासकिय प्रणाली सही थियो भन्ने भ्रममा युवा पुस्ता पर्नु नहुने बताउनु भयो ।