राजनीति

संसदमा वृद्धभत्ता हट्नेदेखि, अफताब छुट्नेसम्मको चर्चा, प्रधानमन्त्रीलाई आरोपै आरोप (भिडियोसहित)


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले विभिद विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि उपसभामुखको निर्वाचन हुन नसकेको देखि कोरोना खोप अभियान चलाउन सरकार अग्रसर नभएको विषयसम्म सांसद्ले शदनमा उठाए ।
प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले लामो समयदेखि उपसभामुख पद रिक्त रहेको भन्दै यथाशीघ्र उपसभामुखको निर्वाचन गरियोस् भन्ने माग गरे । उनले संसद बैठक निरन्तर गर्न पनि माग गरे । एउटा बैठक बसेको ५÷६ दिनमा मात्र अर्को बैठक बस्ने गरेको भन्दै उनले बैठकलाई नियमित रुपमा निरन्तर गर्न माग गरे ।

विधेयकहरुमा छलफल हुन नसकेको भन्दै उनले संसदलाई बिजनेस दिन नसक्ने भए किन पुनर्स्थापना गरेको ? भन्ने प्रश्न समेत गरे । उनले प्रचलित कानुनले व्यवसायीहरुलाई सांसद बन्न नरोकेको चर्चा गर्दै अहिले र यसअघि पनि व्यवसायको पृष्ठभूमि रहेका व्यक्तिहरु सरकारमा सामेल हुँदा विभिन्न खालको टिप्पणी हुने गरेको चर्चा गरे । व्यवसायीहरु सांसद बन्न वा मन्त्री बन्न उचित हो या होइन भन्नेबारे पनि संसदले पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै प्रतिनिधि सभा सदस्य यशोदा सुवेदी गुरुङले जेठको अन्तिम सातामा परेको बाढी, पहिरोले मनाङ जिल्लाका चारवटै गाउँपालिका संकटग्रस्त बनेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सो जिल्लाको आवागमन समेत अवरुद्ध भएकोले आवागमन खोल्न सरकारलाई उनले ध्यानाकर्षण गराइन् । आन्तरिक आवागमन एक गाउँबाट अर्को गाउँमा जाने आवागमन अवरुद्ध भएकोले साना साना काठेपुलहरु निर्माण गरेर भएपनि आन्तरिक आवागमनको व्यवस्था गर्नु जरुरी भएको उनको भनाइ थियो । जिल्लाको एकमात्र लाइफलाइन अवरुद्ध भएको कारणले जिल्लाभरी खाद्य संकटको अवस्था सिर्जना हुन गइरहेको भन्दै यो अवस्थालाई ध्यानमा राखेर हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था भएकोमा उनले सरकारको ध्यानाकर्षण गराइन् ।

थ्यसैगरी नेकपा एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाए । बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले विजय गच्छदार सामान्य धरौटीमा छुट्नुले अब अफताब आलमहरू पनि छुटेर संसदमा आउने संकेत देखिएको दावी गरे । सांसद गिरीले शेरबहादुर देउवा नेतृत्वको सरकार प्रतिशोधको भावनाले अघि बढ्ने संकेत देखिएको भन्दै वृद्धभत्ता समेत कटाउने चिन्ता गाउँ–गाउँमा जेष्ठ नागरिकमा परेको दाबी गरे ।
प्रतिनिधि सभा बैठकको शुन्य समयमा कांग्रेस सांसद गगन थापाले बाहिर सिंहजस्तो गर्जिने तर भित्र लम्पसार पर्ने पुरानो सरकारजस्तो नयाँ सरकारलाई छुट नहुने बताएका छन् । नेकपा एमालेकी सांसद गंगा चौधरीले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाइन् ।
जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर नेपालले अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताइन् । साउन १० गतेको बैठकमा एमाले नेता नेपालले नारमुनीलाई प्रतिगमनको मतियार भन्दै बाहिर जान चेतावनी दिएका थिए । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले यो सरकार पनि गफाडी हुने चिन्ता भएको बताए ।

महतले गरिबलाई निःशुल्क बिजुली उपलब्ध गराउने उर्जा मन्त्री पम्फा भूषालको अभिव्यक्तिप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री भुषालले सोमबार गरिबलाई निःशुल्क बिजुली उपलब्ध गराउने तयारी गरेको बताएकी थिइन् । मन्त्रीहरुको यस्तै अभिव्यक्तिले आफूहरुले सांसदको लोगो लुकाएर हिँड्नुपरेको उनले गुनासो गरे ।