देश

संसदमा चर्कियो दार्चुला घटना,भारतसँग डराएको आरोप (भिडियोसहित)


काठमाडौँ – भारतीय एसएसबीले तुइन चुडाइदिएका कारण महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामी प्रकरणले आजको प्रतिनिधि सभामा जोडतोडले उठेको छ । गृहमन्त्रीले छानविन भैरहेको र पीडितलाई राहतको व्यवस्था गरेको बताउँदा घटनालाई सरकारले हल्का रुपमा लिएको भन्दै प्रतिपक्षी नेकपा एमालेका सांसद्हरुले चर्को आलोचना गरे । त्यसै सत्तापक्षका साँसद्हरुले भने तुइन विस्तापन गरेँ भनेर पूर्वप्रधानमन्त्री केपी ओलीले गफ मात्र लगाएकोले दार्चुला घटना घटेको आरोप लगाए ।

प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले भारतीय एसएसबीले तुइन चुडाइदिएका कारण महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामी प्रकरणको सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने बताए । प्रतिनिधि सभा बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर बोलेका सांसद ठगुन्नाले सरकारले यस घटनालाई संवेदनशील रुपमा नलिएको बताए ।

उनले भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउदै दोषी उपर कारबाही गर्न पनि पनि सरकारसँग माग गरे । उनले सरकारले कर्मचारी स्तरबाट छानविन समिति गठन गरी घटनालाई साम्य पार्ने प्रयास गरेको आरोप पनि लगाए ।

उहाँले तुइनका कारण सिमामा यस्ता घट्ना घटिरहने गरेको भन्दै दार्चुला–खलंगा–तिङ्कर–कालापानी सडक खण्डलाई राष्ट्रिय गौरवको सडक घोषणा गरेर दिर्घकालीन समस्या समाधानमा ध्यान दिन पनि जोड दिए । त्यसैगरी दार्चुला घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गरे । उनले अपराधिक ढंगले धामी नदीमा बपत्ता भएको घटनालाई सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाए ।

नेपाली काङ्ग्रेसकी सांसद विमला नेपालीले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामीको ज्यान गएकोमो घटनाको सत्यतथ्य छानबिनको माग गरिन् । सांसद विकले २०७४ सालमा दुई तिहाइ मतका साथ प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले आफ्नो पहिलो निर्णय नै १ वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु भनेर झुटो आश्वासन दिएको बताइन् । सांसद विकले ३ वर्ष प्रधानमन्त्री हुँदा पनि तुइन विस्थापित नहुनुले ओलीको भनाइहरू हावादारी हुने गरेको अहिले आएर प्रमाणित भएको बताइन् । उनले नेतृत्वमा बस्नेले सक्ने कुरा र काम गर्न आग्रह गर्दै जनतालाई झुक्याउने काम नगर्न पनि आग्रह गरिन् ।

सांसद्हरुको प्रश्नमा जवाफ दिंदै गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामी बेपत्ता भएको विषयमा मन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला पुगेको बताए । सो टोलीले १० दिनभित्र प्रतिवेदन बुझाउने गृहमन्त्री खाँणले बताए । उनले दार्चुलाको ब्यास गाउँपालिका मालघाटमा साउन १४ गते जयसिंह धामी महाकाली नदीमा तुइनबाट नदी तर्ने क्रममा ज्यान गएको भन्दै नरेन्द्रसिंह धामी लगायत ३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उल्लेख गरे ।

घटना लगतै सशस्त्र प्रहरी नायव निरीक्षक बृर्जसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, राष्ट्रिय अनुसन्धान दार्चुलाका विक्रमसिंह भाट सहित ३ जनाको टोली स्थलगत छानबिनका लागि घटनास्थल खटिएको र जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई सो घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको गृहमन्त्री खाँणले सदनलाई जानकारी गराए ।

बहादुरसिंह धामी, गौरासिंह धामी लगायत ४ जना जयसिंह धामी भन्दा अगाडि नै तुइन तरी पारी पुगेकाहरूसँग जानकारी लिने काम भइरहेको उनको भनाई छ । पुल तर्न बाँकी रहेका ४ जनालाई जिल्ला सदरमुकाम बोलाई जानकारी लिने काम भइरहेको मन्त्री खाँणले उल्लेख गरे । दार्चुलामा रहेका विभिन्न सुरक्षा अङ्ग तथा भारतीय सुरक्षाकर्मी एसएसबीको तर्फबाट पनि बेपत्ता भएको धामीको खोजको काम भइरहेको मन्त्री खाँणले बताए ।

सरकारले साउन १७ गते मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र दार्चुलाका सहायक जिल्ला अधिकारी जोत्सना भट्टको छानबिन समिति बनाएको थियो ।