पत्रपत्रिका

शेर्पा सञ्चार ओखलढुंगाको एक हप्ते समाचार लेखन तालिम सम्पन्न


काठमाडौँ – खिजिदेम्बा गाउँपालिका– ५ खिजी फलाटेमा एक हप्ते आधारभूत समाचार लेखन तालिम सम्पन्न भएको छ ।

शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखा ओखलढुङ्गाको आयोजनामा भएको एक हप्ते आधारभूत समाचार लेखन तालिममा खिजिदेम्बा गाउँपालिका उपाध्यक्ष सुशीला तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । तालिममा शेर्पा र अन्य समुदायका गरी ४२ युवाको सहभागीता रहेको थियो ।

संस्थाका अध्यक्ष दावा जाङबु शेर्पाले सञ्चार माध्यममा आदिवासी जनजातिको उपस्थिति न्यून हुने गरेको र शेर्पा समुदायको सहभागिता अझ कम रहेकाले उनीहरूलाई प्रोत्साहन गर्न तालिम आयोजना गरिएको बताउँनुभयो । विशेष गरी मूलधारका मिडियामा शेर्पा समुदायको उपस्थीति बढाउन तालिमले भूमिका खेल्ने विश्वास लिएको शेर्पाले बताउनुभयो ।

संस्थाले पत्रकारिता क्षेत्रमा रुची राख्ने युवाहरुलाई लक्षित गरि तालिम संञ्चालन गरिएकोे संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक आङ छोटी शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सुशीला तामाङले समाचार लेखन तालिम जीवन उपयोगी सिप भएको र समय सान्दर्भीक भएको भन्दै शेर्पा तथा अन्य युवाको लागि यस्तो तालिम जरुरी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा गाउँपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि शेर्पा सञ्चार समूह नेपालका केन्द्रीय महासचिव डोल्मा शेर्पाले प्रशिक्षकले सिकाएको सीपलाई विद्यार्थीले सदुपयोग गर्दै गाउँमा हुने विभिन्न समूहको नेतृत्व गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाले बर्सेनी आयोजना गर्ने यस किसिमको कार्यक्रम निकै प्रभावकारी भएको अनुभव पनि उहाँले सुनाउनुभयो ।

तालिमका सहजकर्ता एवं पत्रकार रामनाथ घिमिरेले चासो र उत्साहका कारण छोटो अवधिमै विद्यार्थीले धेरै कुरा सिकेको दाबी गर्नुभयो । उहाँले तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गर्न सके तालिम फलदायी हुने बताउनुभयो ।

तालिममा सहभागी प्रशिक्षार्थीले पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय धेरै कुराको ज्ञान प्राप्त गरेको भन्दै तालिम प्रभावकारी भएको बताए । आगामी दिनमा अझै लामो समयको तालिम आयोजना गर्ने व्यवस्था मिलाउन सहभागीले सुझाव दिए ।

शेर्पा सञ्चार समूह नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा समाचार लेखन तालिम, फोटो पत्रकारिता, उद्घोषणलगायत सञ्चारसँग सम्बन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ । शेर्पा समुदायमा सञ्चार माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएकोछ ।