Breaking

शेर्पा पर्यटन व्यवसायी संघको अध्यक्षमा पेम्वा शेर्पा निर्वाचित


काठमाडौँ — शेर्पा पर्यटन व्यवसायी संघ नेपालको अध्यक्षमा पेम्वा शेर्पा (सङ्गम) निर्विरोध निर्वाचित हुनुभएको छ ।

सोमबार शेर्पा पार्टी प्यालेसमा पूर्वपर्यटनमन्त्री कृपासुर शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अधिवेशनबाट नयाँ कार्यसमित चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा चेङा छिरिङ शेर्पा, उपाध्यक्षमा सनम शेर्पा रहनु भएको छ । महासचिवमा पासाङ शेर्पा चयन हुनु भएको छ भने सचिव रिन्जी जाङबु शेर्पा, कोषाध्यक्ष पासाङ शेर्पा र सह कोषाध्यक्षमा छोकी शेर्पा चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा छोकी शेर्पा आरोही, ङवाङ फुरी शेर्पा, आङबाबु शेर्पा, थुप्तेन शेर्पा, ङिमा लामा शेर्पा चयन हुनुभएको छ ।

पदयात्रा, पर्वतारोहण लगायतका पर्यटन क्षेत्रमा अग्रणी भूमिकामा रहेको शेर्पा पर्यटन व्यवसायीहरूको छाता संघठनको रूपमा दर्ता भएको यस संस्थाले पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्दै आएको छ । निर्वाचित अध्यक्ष शेर्पाले पर्यटन क्षेत्रलाई उकास्न रणनीतिक भूमिका निर्वाह गर्ने र संख्यात्मक मात्र नभएर गुणात्मक पर्यटन भित्र्याउन र पर्यटन मन्त्रालयले राखेको १० वर्षे लक्ष्य सन् २०२३–२०३३ लाई सफल बनाउन संघ लागिपर्ने बताउनुभयो ।

हाल शेर्पाहरू पाँच सय भन्दा बढी कम्पनी नै दर्ता गरेर पर्यटन व्यवसायमा संलग्न रहेका छन् । अधिकांश पर्यटन मजदुरको रूपमा पनि शेर्पाहरू रहेका छन् । कोभिड महामारीका कारण दुई वर्षदेखि पर्यटन व्यवसाय सबैभन्दा बढी मारमा परेकोले व्यवसायलाई पुनः माथि उकास्न सरकारले विशेष राहत कार्यक्रम ल्याउनुपर्ने माग संघको छ ।