देश

शेयर बजार घटे पछि निजी क्षेत्र सक्रिय, एकै मञ्चमा नेप्से, सेवन र राष्ट्र बैंक


काठमाडौँ — नेपालको पूँजी बजार निरन्तर ओरालो लाग्न थाले पनि निजीक्षेत्र सक्रिय बनेको छ । नेपाल उद्योग वाणिज्य महासंघले आज पुँजी बजार सम्मेलन नै आयोजना गरेर नियामकका प्रमुखलाई एकै मन्चमा उतार्यो । जसले बजार सुधारको अपेक्षा गरिएको छ । नेपाली शेयर बजारमा यतिवेला निरन्तर गिरावट आईरहेको छ । करिव ९ महिनायतादेखि बजार घट्दो क्रममा छ । पुँजी बजारलाई सकारात्मक समाचारले पनि प्रभाव पारेको छैन । वित्तीय प्रणालीमा तरलता दबाब र चर्को ब्याजदरका कारण बजारमा प्रभाव परिरहेको छ ।

बजार निरन्तर घट्दा आम लगानीकर्ताको मनोबल झन् कमजोर हुँदै गएको छ । आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन नसक्दासम्म बजारले गति लिन सक्दैन । निरन्तर घटेको बजारमा लगानीकर्ताको मनोभावना सकारात्मक बनाउन निजी क्षेत्र सक्रिय बनेको छ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार पुँजी बजार सम्मेलन कै आयोजना गर्यो । जसमा विशेष गरेर केन्द्रीय बैंक, धितोपत्र बोर्ड, नेप्से र पुजिबजारमा चासो राख्ने लगानी कर्ता र विज्ञ पनि सामेल थिए ।

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए । बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने धारणा उनको छ । त्यस्तै,नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्न जरुरी रहेको बताए । उनले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा सबैसँग छलफल गरेर अध्ययन भइरहेको जानकारी गराए ।

उनले रियल क्षेत्रका कम्पनीहरुलाई पनि नेप्सेमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको जानकारी गराए । त्यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्ने आश्वासन लगानीकर्तालाई दिए । उनले आईपीओमा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रीपरिषद्बाट पास हुने वितिकै लागू गरिने जानकारी गराए ।

अहिले बजार यसरी प्रताडित हुनुमा पुँजी बजार विरोधी नीतिहरु नै प्रमुख रुपमा जिम्मेवार रहेका छन् । विशेषगरी केन्द्रीय बैंकले एकपछि अर्को गरी पेल्ने नीति अख्यितार गरेपछि बजार तल झर्नेक्रम सुरु भएको हो । यता, पीई रेसियो हेर्दा सेयर भाउहरु निकै सस्तो भइसकेका छन् । तर, लगानी कर्ताले शेयर भने किन्न सुरु गरेका छैनन् ।