देश

शेयर बजार उच्च अङ्कले घट्यो


काठमाडौँ — शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय १५ वटा कम्पनीको ८५ लाख ६९ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो । युनाइटेड मर्दी हाइड्रोको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै हिमाल दोलखा हाइड्रो, साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि विन्ध्यवासिनी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।