राजनीति

शीर्ष नेताहरूले यसरी मनाए दशैं, प्रधानमन्त्रीले गुरुसँग थापे टीका (भिडियोसहित)


काठमाडौँ – कोरोनाको विश्वब्यापी प्रभावका कारण शिर्षस्थ नेताहरुको दशैं घरमै सिमित भएको छ । भिडभाड गर्दा कोरोनाको जोखिम बढ्ने भन्दै दलका शिर्षस्थ नेताहरुले घरमै बसेर चाडपर्व मनाएका हुन् ।

कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष सर्वसाधारणदेखि नेताहरुको विजयादशमी विशेष बन्न सकेन । शीर्षस्थ नेताहरुले पनि घरमै परिवारसँग सीमित रहेर दशैं मनाएका छन् । यस्तै कतिपय नेताले आफूभन्दा ठूलाबाट आर्शिवाद लिएर दशैं मनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आमा र गुरुबाट साइतमै विजयादशमीको टीका लगाएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गुरु टिकाराम घिमिरेको हातबाट टीका लगाए । बिहान १०ः०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले गुरु टिकाराम घिमिरेबाट टीका लगाएका हुन् । देउवाले बालुवाटारमा पत्नी आरजु राणा देउवा, छोरा जयवीरसिंह देउवा, भतिज भानु देउवा प्रमुख स्वकीय सचिबलाई टीका लगाइदिए । वरिष्ठ नेता रामचन्द्र पौडल शंशाक कोइराला लगायत नेताले पनि घरमै बसेर दशैं मनाएका छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम लगायतका नेताले पनि घरमै सीमित रहेर दशैं मनाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि घरमै बसेर दशैं मनाएका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नै गृहजिल्ला झापामा दशैं मनाएका छन् । आफन्तको निधन भएकोले ओलीले यसपटकको दशैंमा टीका भने लगाएका छैनन् ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपाल संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईका हातबाट टीका तथा बुबाको आशीर्वाद लिए । त्यसैगरी अन्य शीर्षस्थ र भीआईपीहरुले पनि बाहिर नगई घरमै सीमित रहेर दशैं मनाए ।

कोरोनाको विश्वव्यापी प्रभावका कारण राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई लगाइदिने टीका भने यो पटक स्थगित भएको छ । यसअघि नै उनीहरूले घरमै बसेर सुरक्षित तरिकाले दशैं मननाउन अपिल गरेका थिए ।