समाचार

शाओमीको रेड्मी १०-ए स्मार्टफोन अब नेपालमा


काठमाडौँ – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०-ए नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०-ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित रहेको कम्पनीले बताएको छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सीमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । ग्राहकको रेड्मीप्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरी रेड्मी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०–ए बजारमा ल्याएका छौं ।’

रेड्मी १०-ए को ठूलो ६.५३ इन्च एचडी प्लस डिस्प्लेले भिडियो तथा मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्ने पंडाले बताए । यस्तै अन्य ईन्ट्री-लेभल स्मार्टफोनको तुलनामा यसमा भएको थ्री डी कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्ने दाबी गरिएको छ । साथै यसमा पछाडी रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ ।

यसमा रहेको १३ एमपीको मुख्य क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्ने पंडाले बताए ।

रेड्मी १०-ए मा पावर एपको लागि मिडियाटेक हेलो जी-३५ प्रोसेसर जडान गरिएको छ । रेड्मी १०-ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्ध गराइएको छ । यो फोन २ जीबी प्लस ३२ जीबी र ३ जीबी प्लस ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध गरिएको छ । जसको मूल्य क्रमशः १३ हजार ९९९ र १५ हजार ९९९ रहेको छ । रेड्मी १०–ए १३ श्रावन २०७९ देखि देशभरका सबै अधिकृत मि स्टोरहरूमा उपलब्ध हुनेछ ।