राजनीति

शशांकले छाडे कांग्रेस सभापतिको दाबी


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १४ औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएका छन् । सभापतिका अर्का दाबेदार एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा मंगलबार दिउँसोदेखि जारी इतर समूहको बैठकबाट निस्केर बोल्दै उनले यस्तो बताएका हुन् ।

करिब ५ घण्टादेखि जारी इतर समूहको बैठकमा युवा र केन्द्रीय सदस्यहरुले मिलेर साझा उम्मेदवार तय गर्न दबाब दिएपछि शशांक सभापतिको दौडबाट बाहिरिएका हुन् । ‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडेँ । रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नु भएको छु, कोइरालाले भने, ‘तर अरु मिलेमा उहाँले पनि छोड्ने संकेत गर्नुभएको छ ।’

कोइरालाका अनुसार सभापतिका अन्य दुई दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह मिलेर उठ्न तयार भएमा पौडेलले पनि दाबी छाड्न तयार भएका छन् ।