कोरोना विशेष

वुहानमा संक्रमण बढ्न थालेपछि सम्पूर्ण नागरिकको परीक्षण गरिदैँ


काठमाडौँ – चीनको वुहानमा फेरि कोरोना संक्रमण देखिन थालेपछि शहरभरका सम्पूर्ण नागरिकलाई कोरोना परीक्षण गराउने भएको छ । वुहानको स्थानीय तहमा सात नयाँ संक्रमित फेला परेपछि सबै नागरिकको कोरोनाको परीक्षण गर्न लागेको हो ।

१ करोड १० लाख जनसङ्ख्या बसोबास गर्ने वुहान सहरमा १ करोड १० लाख मानिसको बसोबार रहेको छ । कोरोनाबाट लगभग मुक्त भइ साधारण जनजीवनमा फर्किसकेको चीनमा पछिल्ला केही दिन संक्रमण दर एक्कासी बढेको छ । दश दिनमा त्यहाँ ३०० नयाँ संक्रमित भेटिएका छन् । आधिकारिक निकायहरुले अति संक्रमक मानिएको डेल्टा भेरियेन्टका कारण र स्थानीय पर्यटनको सिजन भएकाले नै भाइरस तिव्र रुपमा फैलिरहेको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मंगलबार मात्र चीनभरबाट ९० नयाँ कोरोना बिरामी फेला पारिएको छ । ती मध्ये ६१ स्थानीय स्तरमा संक्रमित भएको पाइएको छ । यस अगाडिसम्म चीनलाई कोरोना नियन्त्रणमा विश्वकै अब्बल मुलुक मध्येको एक मानिँदै आएको थियो । सीमा क्षेत्रमा पनि चीनले प्रभावकारी रुपमा कोरोना नियन्त्रण गर्न सफल भएको देखिन्छ । तर केही समय अघि नानजिङस्थित एक अति व्यस्त विमानस्थलमा एकजना कर्मचारी संक्रमित भएको पाइएपछि चिन्ता बढेको हो । यसरी सरकारले नानजिङका ९२ लाख वासिन्दाहरुको तीनपटक परीक्षण गराइसकेको छ र त्यहाँका लाखौँ मानिसलाई लकडाउनमा समेत राखेको छ ।

यो नयाँ संक्रमणको प्रकोप राजधानी बेइजिङसम्म पनि पुगिसकेको छ जहाँ स्थानीय संक्रमणबारे लगातार खबर आइरहेका छन् । वुहान शहरमा २०१९ मा सबैभन्दा पहिले कोरोना भाइरस देखा परेको थियो ।