प्रदेश नं. २

वीरगञ्ज नाकाबाट ३८ अर्बको प्रशोधित तेल निकासी


काठमाडौँ – वीरगञ्ज नाकाबाट खाने तेलको निर्यात उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०७७/७८ मा यो नाकाबाट भटमास र सूर्यमुखीको ३८ अर्ब रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएको छ ।

कुल २ लाख ८ हजार २०४ मेट्रिकटन (टन) प्रशोधित तेल निकासी भएको भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर स्वदेशका उद्योगले प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् ।

नेपालको निर्यात व्यापारमा प्रशोधित तेलको मुख्य योगदान रहेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । पौडेलका अनुसार गत आवमा वीरगञ्जबाट भटमासको तेल १ लाख ९७ हजार तीन सय २६ टन र सूर्यमुखी तेल १० हजार ८६७ टन निर्यात भएको छ । यो परिमाण अघिल्लो समीक्षा आव २०७६/७७ को तुलनामा उल्लेख्य बढी हो ।

उक्त वर्ष वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेल ६१ हजार ५५० टनमात्र निर्यात भएको थियो । सूर्यमुखी तेलको निकासी परिमाण ४२० टनमा सीमित थियो । त्यसअघि निकासी व्यापारमा पाम आयलको वर्चस्व रहेकोमा भारतले आयातमा प्रतिबन्ध लगाइदिएपछि उद्योगीहरूले विकल्पमा भटमास र सूर्यमुखीको तेल रोजेका थिए ।

गतवर्ष निकासी भएको भटमासको तेलको मूल्य अघिल्लो वर्षको तुलनामा तीन सय ३७ प्रतिशत बढी हो । गत आवमा बारा र पर्साका उद्योगले ३६ अर्ब रुपैयाँबराबरको भटमासको तेल र करीब २ अर्ब रुपैयाँको सूर्यमुखी प्रशोधित तेल भारत पठाएका छन् ।

भारतले पाम आयलमा लगाएको प्रतिबन्ध हटाएकाले चालू आवमा तेल निकासी अझ बढ्ने ओसीबी फुडका सञ्चालक सुरेश रूंगटा बताउँछन् । भारतले पाम तेलको आयातमा १ वर्षअघि लगाएको प्रतिबन्ध १ महीनाअघि हटाएको थियो । आर्थिक अभियान दैनिक