Breaking

विश्वकपको सर्वाधिक सफल टोली ब्राजिल,उपाधिदेखि गोलसंख्यासम्म सबै आफ्नै नाममा


काठमाडौँ — कतारमा हुने फिफा विश्वकप नजिकिँदै गर्दा सर्वत्र यसको चर्चा छ । साढे तीन महिनाभन्दा कम समयको अवधी रहँदा विश्वकपको इतिहास र उपाधिका दावेदारका विषय पनि चर्चा र चासोमा छन् । फिफा विश्वकप फुटबलको २१ औं संस्करण सम्पन्न हुँदासम्म सर्वाधिक सफल टोलीको चर्चा गर्दा ब्राजिलको नाम आउने गर्छ । ब्राजिलमात्रै एउटा यस्तो देश हो, जसले हालसम्मका सबै विश्वकप फुटबलमा सहभागिता जनाएको छ ।

सन् १९३० मा उरुग्वेमा भएको विश्वकप फुटबल देखि सन् २०२२ मा हुने विश्वकपमा पनि ब्राजिलले आफ्नो उपस्थिति पक्का गरिसकेको छ । सर्वाधिक पाँच पटकको विश्वकप उपाधि आफ्नो नाममा लेखाइसकेको ब्राजिलले पहिलो पटक सन् १९५८ मा स्वीडेनमा भएको विश्वकपबाट पहिलो खाता खोल्न सफल भएको थियो ।

लगातार दुई पटक विश्वकप जित्ने कीर्तिमानी आफ्नो नाममा बनाउँदै सन् १९६२ मा ब्राजिलले उक्त उपाधि जितेर विश्व फुटबलमा आफूलाई अब्बल सावित गर्याे । यसअघि इटालीको नाममा रहेको यो कीर्तिमानलाई भंग गर्न ब्राजिल सफल रह्यो । तेस्रो पटकको उपाधि सन् १९७० मा जितेको ब्राजिलले त्यसपछि भने विश्वकप जित्न २४ वर्ष कुर्नु परेको थियो ।

१९९४ मा चौथो पटक उपाधि विजेता बनेको ब्राजिलले त्यसको ८ वर्षपछि २००२ मा पाँचौ पटक पुन विश्वकप आफ्नो नाममा पार्न सफल भयो । त्यस बाहेक ब्राजिल सन् १९५० र १९९८ मा उपविजेता पनि भएको छ । ब्राजिल दुई पटक तेस्रोसमेत भएको इतिहास छ । सन् १९३८ र १९७८ मा तेस्रो भएको हो ।
विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने टोलीमा पनि ब्राजिल नै रहेको छ ।

ब्राजिलले विश्वकपमा २२९ गोल गरेको छ भने जर्मनीको नाममा २२६ गोल छ । सन् २०१४ को विश्वकप अघिसम्म सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि ब्राजिलकै खेलाडीको नाममा थियो । नाजियो रोनाल्डोको नाममा रहेको १५ गोलको कीर्तिमानी जर्मनीका मिरोस्लाभ क्लोजले १६ गोल गर्दै आफ्नो नाममा पारेको थियो । अझै पनि सर्वाधिक गोल कर्ताको सूचिको दोस्रो र पाँचौं स्थानमा ब्राजिलका रोनाल्डो र पेले रहेका छन् । पेलेले १२ गोल गरेका छन् ।


पाँच पटकको उपाधि विजेता ब्राजिललाईकतार विश्वकपको पनि प्रमुख दावेदारकै रुपमा हेरिएको छ । हरेक विश्वकपमा उपाधि दावेदार मानिने ब्राजिलमा विश्वस्तरिय खेलाडीको बाहुल्यता रहेको छ । यद्यपि ब्राजिलले सन् २००२ पछि भने उपाधि जित्न सकेको छैन । त्यस यता ब्राजिल एक पटक मात्र सेमिफाइनलमा पुगेको छ । ब्राजिलका समर्थक कतार विश्वकपमा भने ब्राजिललाई ६ पटक विश्व विजेता भएको हेर्न चाहन्छन् ।