अर्थनीति

विनोद चौधरीलाई नेपाल बंगलादेश बैंकको शेयर बिक्री नगर्न अदालतको आदेश


काठमाडौँ — काठमाडौँ जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ ।

सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यापारी मोतीलाल दुगडले सो बैंकको शेयर किन्न आफूसँग करार गरी काम अगाडि बढिसकेको भन्दै चौधरीलाई बिक्री गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा हालेका थिए ।

सो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश रामचन्द्र पौडेलको इजलासले विपक्षीबाट लिखित जवाफ नआएसम्मका लागि शेयर खरिद बिक्री नगर्न आदेश दिएको हो ।

दुगडले नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर १५७ रुपैयाँका दरमा खरीद गर्न ३१ मार्च २०२१ मा आफूले राखेको प्रस्ताव नेपाल बंगलादेश बैंकले २ अप्रिल २०२१ मा स्वीकार गरी प्रक्रिया अघि बढिसकेको दावी गरेका छन् ।

अदालतले नेपाल बंगलादेश बैंकलाई उक्त सेयर दुगडलाई बिक्री नगर्नुको लिखित जवाफ ७ दिनभित्र पेश गर्न पनि आदेश दिएको छ ।

बंगलादेशको बैंक आईसीएसफसीको नेपाल बंगलादेश बैंकमा लगानी रहेको छ । सो लगानी बिक्री गरेर बंगलादेश फर्कन लागेको आईसीएफसी बैंकले चौधरी समूहका अध्यक्ष विनोद धौधरीलाई शेयर बिक्री गर्ने तयारी गरेको थियो ।

चौधरीले पनि आईसीएफसी बैंकको नाममा रहेको एनबी बैंकको शेयर खरिद गरी नविल बैंकसँग मर्ज गराउने तयारी गरेका थिए ।