Breaking

विदेशिएका युवाहरुलाई गाँजाको बोट समातेर गाउँ पठाऔं: सांसद तामाङ


काठमाडौँ — सांसद शेरबहादुर तामाङले युवालाई गाँजा खेतीमा आकर्षित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले विदेशिएका युवाहरुलाई गाँजाको बोट समातेर गाउँ पठाउँदा कृषिमा आकर्षण देखिने विश्वास व्यक्त गरे ।

सांसद तामाङले जाँगा खेतीलाई खुला गर्ने गरी यसअघि नै गैर सरकारी विधेयक प्रतिनिधिसभामा दर्ता गरेका छन् । उक्त विधेयक छलफलमा अगाडि बढेको छैन । उनले उक्त विधेयकलाई छलफलमा ल्याएर पास गर्नका लागि समेत आग्रह गरे ।

‘कृषिमा आकर्षण दिन संसदमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लिएर आऔं, पारित गरेर वैधानिक बनाऔं’ उनले थपे, ‘यसो गर्दा हरियो पासपोर्ट बोकेर विदेश जानेहरु जो छन तिनै युवाहरुलाई हरियो गाँजाको बोट समातेर गाउँ पठाउनेछौं । यसले अर्थतन्त्रमा टेवा पुर्याउने देखिन्छ ।’