राजनीति

लिपुलेकमा एकपक्षीय सडक निर्माण तत्काल रोक्न भारतलाई नेपालको आग्रह


काठमाडौँ – नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न सरकारले भारतलाई आग्रह गरेको हो ।

गत पुस १५ गते सीमावर्ती क्षेत्रमै आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेपछि सरकारको धारणा सार्वजनिक भएको हो ।

सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताउनुभएको छ ।

मोदीले कालापानीमाथि सडक बनाइरहेको विषय उपलब्धीका रुपमा पेश गरेपछि नेपालमा त्यसको आलोचना सुरु भएको थियो ।