प्रदेश–१

लिखुपिकेमा बेरुजुको चाङ, आपतकालीन उद्दारको नाममा तौलिया खरिद

आईटी अफिसरलाई दिनकै १० हजार गाडी भाडा


काठमाडौँ – सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले गर्ने खर्चमा वार्षिक रूपमा बेरुजुको सीमा नाघ्दै गएको छ ।

महालेखा परीक्षकको ५९औँ प्रतिवेदनअनुसार लिखुपिके गाउँपालिकामा मात्रै झण्डै तीन करोड बेरुजु रहेको पाइएको छ ।
बेरुजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधि भन्दा बाहिर गएर मनपरी खर्च गर्दा लिखुपिकेमा एउटै पालिकामा २ करोड ६९ लाख बेरुजु निस्किएको छ । स्थानीय तहहरूले खर्च प्रणाली पारदर्शी नगर्ने, विधिप्रक्रिया भन्दा बाहिर गएर ठेक्का लगाउने तथा लक्षित योजनामा मनोमानी तरिकाले बजेट खर्च गर्ने जस्ता कार्यले गाउँपालिकामा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ ।

५ वडा रहेको लिखुपिके गाउँपालिकामा यो वर्ष महालेखाले कूल ५० करोड ८१ लाख ९१ हजारको लेखापरीक्षणमा २ करोड ६९ लाख बेरुजु देखाएको छ ।

करिब ६ वर्ष अघि गाउँ-गाउँमा सिंहदरबारको नारादिएर स्थापना भएको स्थानीय तहमा जनप्रनिनिधि आएपछि विकास र सरकारी सेवा प्रभावकारी हुने जनतामा आशा थियो । तर, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा जनताको त्यो आशा निराशामा परिणत भएको छ ।

आर्थिक वर्ष २०७७/२०७८ लिखुपिके गाउँपालिकाले आपतकालीन उद्धारकोष कार्यक्रम अन्तर्गत तौलिया खरिद गर्न भन्दै बजेटको दुरुपयोग गरेको महालेखा परिक्षणको कार्यालयले औल्याएको छ । स्थानीयतह भ्रष्टाचार र व्यथितिमा लिप्त रहेको भन्दै आरोपलाई महालेखाको प्रतिवेदनले प्रमाणित गरिदिएको छ ।

लिखुपिके गाउँपालिकाले आर्थिक वर्ष २०७७/२०७८ मा पुँजिगत तर्फबाट वडा नम्बर २ का तत्कालीनअध्यक्ष रमेश कुमार बस्नेतको नाम तौलिया खरिद गर्न २ लाख ८८ हजार खर्च गरिएको महालेखा परिक्षणको कार्यालय देखाएको छ । महालेखाकोको प्रतिवेदनमा आपतकालीन उद्धार कार्यक्रमका लागि तौलिया खरिदको औचित्य नदेखेको र तौलिया वितरण–संकलन भरपाई संलग्न नरहेको भनिएको छ । आपतकालीन उद्दारमा तौलियाको कामै नहुने भए पनि गाउँपालिकाले कमिसनको खेलमा बजेट सक्ने काम गरेको स्थानीयको आरोप छ । स्थानीयले तौलिया वितरण नै नभएको समेत दाबी गरेका छन् ।

गाउँपालिकामा बजेट अभाव रहेको भन्दै कतिपय अतिआवश्यक संरचना निर्माण गर्न नसकी रहँदा गाउँपालिकाले आर्थिक सहायता भन्दै १९ लाखभन्दा बढी रकम सहयोग गरेको पाइएको छ ।

त्यस्तै गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम गर्दा १० दिनको गाडी भाडा मात्र गाउँपालिकाका आईटी अफिसर भोला बस्नेतले १ लाख लिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता, वृद्धभत्ता नाममै नभएको व्यक्तिको नामबाट लिएको र बसाईसराई गरी काठमाडौँ आएको व्यक्तिको नाममा समेत भत्ता निकालेर खाइदिएको भन्दै लिखुपिके गाउँपालिका-१ का निवर्तमान वडा अध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानआयोगमा उजुरी परेको छ । शेर्पा हाल गाउँपालिका उपाध्यक्षमा हुन् ।

तत्कालीन वडाध्यक्ष शेर्पाले विकासको कार्यमा भ्रष्टाचार र मनोमानी गरेको भन्दै केहि समय अघिदेखि चर्को विरोध हुँदै आएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी र हिमालयन ट्रस्टद्धारा निर्माण गरिएको भवनमा मनोमानी गरेपछि उनको आलोचना भएको थियो ।