विदेश

‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’को कमजोर ओपनिङ


काठमाडौँ — बलिउड स्टारका दुई नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’ले कमजोर ओपनिङ गर्ने संकेत देखिएको छ । नेपालका सिनेमा हलमा बिहान दुवै फिल्मको ओपनिङ अकुपेन्सी ५० प्रतिशत पनि छैन । भारतमा चाहिं ‘लाल सिंह चड्ढा’को बिहानको अकुपेन्सी १५ प्रतिशत रहेको बलिउड हंगामाले जनाएको छ । आमिरका यसअघिका फिल्मले पहिलो दिनमै २० करोड भारुभन्दा बढीको ओपनिङ गर्थे । तर ‘लाल सिंह चड्ढा’ले १० करोड ओपनिङ गर्ने अनुमान छ ।

बिहानीको अकुपेन्सीले सिंगो बलिउडलाई नै स्तब्ध तुल्याएको छ,’ बलिउड हंगामाले लेखेको छ । तरण आदर्श, सुमित कँडेलसहित बलिउडका ट्रेड समीक्षकले फिल्मलाई कमजोर रेटिङ दिएका छन् । तरणले फिल्मलाई निराशजनक भन्दै दुई रेटिङ दिएका छन् । हाफटाइमपछि फिल्म कमजोर र अल्छी भएको आदर्शको टिप्पणी छ ।

यो फिल्म सन् १९९४ मा रिलिज भएको टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो । ‘रक्षाबन्धन’को ओपनिङ अकुपेन्सी पनि ‘लाल सिंह चड्ढा’भन्दा कम छ । यद्यपि, फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ । कतिपय समीक्षकले ‘रक्षाबन्धन’ पनि बासी मेलोड्रामाबाट प्रेरित भएको आरोप लगाएका छन् । यसअघि अक्षयका ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ पनि असफल भएका थिए ।

नेपालमा पनि यी दुवै फिल्मको दिवाकालीन अकुपेन्सी पनि ५० प्रतिशत वरपर छ । स्टारका फिल्म भए पनि दर्शकको अपेक्षित ओइरो देखिएको छैन । वितरकले दुई करोड ४० रुपैयाँमा ‘लाल सिंह चड्ढा’को राइट खरिद गरेका थिए ।