बैँक / वित्त

लप्से सहकारीका सदस्यहरुलाई बोनस वितरण: सर्वाेत्कृष्ट बन्दै लप्से सहकारी


काठमाडौँ – सिन्धुपाल्चोकको चौतारासांगाचोकगढी नगरपालिका ९ स्थित लप्से कृषि सहकारी सस्थाले आफ्ना सेयर सदस्यहरुलाई लाभांश अर्थात बोनस बाँडेको छ ।

सहकारी स्थापनाको ११ औँ वर्षमा प्रवेश गरेको लप्से कृषि सहकारी सस्थाले आफ्ना सेयर सदस्यहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरि बोनस वितरण गरेको हो ।

प्रति कित्ता ५४ रुपैयाँका दरले बोनस बाँडिएको छ । यस सहकारीमा महिला १७६ र पुरुष १३८ गरि ३ सय १४ जना सेयर सदस्य रहेका छन् । लप्से कृषि सहकारी सस्था लिमिटेडले बचतकर्ताहरुलाई सुविधा बढाउँदै लगेपछि सेयर सदस्यहरुको संख्यामा वृद्धि हुँदै गएको हो ।

लप्से गाउँलाई लक्षित गरि स्थापना गरिएको उक्त सहकारीले अहिले कार्य क्षेत्रलाई नौ नम्वर वडाभरी फैलाउन सफल भएको छ । अहिले यस सहकारीको कुल पुँजी एक करोड १८ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ पुगेको छ । हाल यस सहकारीको कृषि तथा अन्य शिर्षकमा ६५ लाख २२ हजार ७२० रुपैयाँ ऋण लगानी रहेको सहकारीका अध्यक्ष बेलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

लप्से कृषि सहकारीले कृषि कर्जामा १४ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरिरहेको छ भने अन्य शिर्षकमा १५ प्रतिशतमा कर्जा उपलब्ध गराउँदै आएको छ । बचतकर्ताका लागि भने १० प्रतिशत व्याजदर कायम गरि कारोवार गर्दै आएको छ । यस सहकारीमा बाल बचत, मासिक बचत तथा ऐच्छीक बचतको सुविधा रहेको छ । गत आर्थिक वर्षमा यस सहकारीले ३ लाख ३० हजार ४ सय ५० रुपैयाँ नाफा कमाएको छ ।

यसैबिच लप्से कृषि सहकारी सस्थाको नयाँ भवन उद्घाटन गरिएको छ । लामो समयदेखि निर्माणाधिन सहकारीको भवन घेरावारसहित निर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको हो । विभिन्न संघसस्था तथा लप्सेका स्थानीयको सहयोगमा भवन निर्माण गरिएको हो । २७ लाख ७४ हजार ९ सय ८४ रुपैयाँ लागत र स्थानीयको ५११ दिन श्रमदानबाट भवन निर्माण सफल भएको हो ।

सो भवन वडाध्यक्ष विष्णु लामाले उद्घाटन गर्नुभएको हो । उक्त भवन लप्से नेवार समूदायले सामाजिक कार्यका लागि पनि प्रयोग गर्दै आएका छन् । उद्घाटनका क्रममा उक्त भवन निर्माणका लागि जग्गा दान गर्ने अम्बरबहादुर श्रेष्ठलाई दोसल्ला ओडाई सम्मान गरिएको छ ।

यस्तै लप्से कृषि सिंचाइ पोखरी निर्माणका लागि जग्गादान गर्ने नरबहादुर श्रेष्ठलाई पनि दोसल्ला ओडाई खादामाला सहित सम्मान गरिएको लप्सेका अगुवा एवं शिक्षक रुद्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै लप्से कृषि सहकारीले गाउँकै कालीदेखि माध्यमिक विद्यालयलाई स्कुल बस खरिदका लागि १० हजार रुपैयाँ सहयोग गरेको छ ।

साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडाध्यक्ष विष्णु लामाले लप्से कृषि सहकारी नौ नम्बर वडामै सर्वाेत्कृष्ट रहेको बताउनुभयो । सहकारीको मूल मर्मलाई ध्यानमा राखेर काम गर्दै आएको बताउँदै सहकारीमाथिको भरोसालाई जोगाइराख्न सहकारी सञ्चालक समितिलाई आग्रह गर्नुभयो ।

यस्तै योहो टेलिभिजनका समाचार संयोजक एवं स्थानीय विक्रम श्रेष्ठ कृषि सहकारीले कृषि व्यवसायकै लागि कर्जा लिनेहरुलाई व्याजदर घटाउन आग्रह गर्नुभयो । कृषि उपार्जनमा प्रोत्साहित गर्न कृषकहरुलाई १४ प्रतिशत ब्याजमा ऋण दिइरहेकोमा केही प्रतिशत व्याजदर घटाउन सुझाव दिनुभएको हो ।

साथै विभिन्न शिलशिलामा गाउँबाट पलायन भएका युवाहरुलाई एकजुट गराउन जरुरी रहेको पनि उहाँको भनाई थियो । यस्तै लप्सेका समाजसेवी एवं व्यवसायी पदम बहादुर श्रेष्ठले बैँकमा ऋण लिन झन्झट हुने तर गाउँमा रहेको सहकारीमा कारोवार गर्न सहज हुने भएकाले सहकारीमै बचतको बानी गर्न सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।