फोटो फिचर

लघु चलचित्र ‘दाक्पु शेर्वा’ सार्वजनिक (भिडियोसहित)


काठमाडौँ – लघु चलचित्र ‘दाक्पु शेर्वा’ सार्वजनिक भएको छ । राष्ट्रिय जनगणना २०७८ मा शेर्पा समुदायको सक्रिय सहभागिताका लागि निर्माण गरिएको ‘दाक्पु शेर्वा’ नामक जनचेतनामूलक लघु चलचित्र सोलुखुम्बुको सल्लेरीमा प्रदर्शन गरिएको हो ।

लघु चलचित्रका सह–निर्देशक कुन्जाङ शेर्पाले नेपाल शेर्पा संघको ‘शेर्पा लेखौँ, शेर्पा लेखाऔँ’ भन्ने मूल मर्मका साथ राष्ट्रिय जनगणना २०७८ मा शेर्पा समुदायको सक्रिय सहभागिता गराउन र जनगणनामा वास्तविक तथ्यांक प्राप्त गर्ने उद्धेश्यका साथ नेपाल शेर्पा संघ सोलुखुम्बुले ‘दाक्पु शेर्वा’को निर्माण गरेको बताउनुभयो ।

लघु चलचित्रको निर्देशन, छांयाकन तथा सम्पादन लाक्पा शेर्पा (VJ)ले गरेका हुन् । कुन्जाङ शेर्पाको सह—निर्देशनमा चलचित्र सोलुखुम्बुमा निर्माण गरिएको हो ।

लघु चलचित्र ‘दाक्पु शेर्वा’ मा कतिपय शेर्पाहरुको थर मात्रै टिपाउने गरेकोमा आगामी जनगणनामा थरसँगै शेर्पा अनिवार्य लेख्न भनिएको छ । थरसँगै जात अनिवार्य लेख्नुपर्ने हुन्छ । अन्यथा गलत हुने उल्लेख गर्दै लघु चलत्रिमा ‘कुनैको थर लामा हो भनेपनि लामा शेर्पा लेख्न लगाउनुपर्छ’ भनेका छन् । नागरिकतामा लामा मात्रै भएकाले पनि जनगणनामा शेर्पा लेख्नुपर्ने लघु चलचित्रमा उल्लेख गरिएको छ ।

लघु चलचित्रमा थप भनेको छ ‘स्थानीय जनप्रतिनिधि, शेर्पा शिक्षक कर्मचारी, राजनैतिककर्र्मी बुद्धिजिविहरुसँग सल्लाह लिनु हुन र सामाजिक अभियन्ताहरुले आफ्नो गाउँटोल, छिमेकमा यसरी नै सही तथ्यांक संकलनमा सहयोग गरी दिन समेत आग्रह गरेको छ ।

लघु चलचित्र ‘दाक्पु शेर्वा’मा पासाङ शेर्पा (पिके),कन्जाङ शेर्पा, आचार्य पेमारिन्जी,आङ नुर्बु लामा, आङ ङिमा शेर्पा, मिङमा याङजी शेर्पा, ङिमा शेर्पा, जाङबु शेर्पा, छिरिङ निमा शेर्पा लगायतको अभिनय देख्न सकिन्छ । लघु चलचित्र ‘दाक्पु शेर्वा’को छायाङ्कन सोलुखुम्बुकोे विभिन्न स्थानमा गरिएको छ । ‘दाक्पु शेर्वा’ लघु लघु चलचित्र नेपाल शेर्पा संघ सोलुखुम्बुको फेसबुक पेज र याक एल अनलाइनमार्फत बजारमा आएको निर्देशक शेर्पाले बताउनुभयो ।