देश

र्‍यापर लाहुरेले ल्याए नयाँ गीत बिरामी


काठमाडौँ — र्‍यापर लाहुरेले नयाँ गीत बिरामी ल्याएका छन् । लागूऔषध प्रयोग प्रकरणमा जिल्ला प्रहरी कार्यालयबाट धरौटीमा रिहा भएपछि पहिलोपटक ल्याएको गीतले उनकै वास्तविक जीवन चित्रण गर्छ । निजी परिस्थितिलाई गीतमा चित्रण गरेको लाउरेले बताए ।

‘सफरिङ पिरियडमा मैले भोगेको कुरालाई गीतमा बुनेको छु । मैले हर्ट गरेका शुभचिन्तकलाई पनि गीतमार्फत सरी भनेको छु,’ लाउरे सुनिए, ‘मेरा लागि यो गीतभन्दा ठूलो कुरा हो । भविष्यमा ड्रग्स खान मन लाग्यो भने पनि मैले यो गीत सुनेर आफूलाई टाढा राख्छु ।’

रोनित शाक्यले संगीत गरेको गीतलाई लाउरेले सन् २०१९ मै लेखेका थिए । हिरासतमा रहँदाखेरि नै यो गीतमाथि आफूलाई भिडियो बनाउन ऊर्जा आएपछि निर्देशक शाक्यसँग सहकार्य गरेको अनुभव उनले सुनाए ।

निर्देशक शाक्यले गीतमा स्वैरकाल्पनिक ढंगबाट कथावाचनको प्रयास गरेका छन् । ‘मेरा लागि यो निकै चुनौतीपूर्ण थियो । एकातिर सर्वसाधारणलाई कथाबारे बुझाउनु थियो भने अर्कोतिर गीतसँग भिडियोलाई न्याय दिनु थियो,’ निर्देशक शाक्यले भने । बिरामी’ गीत किन गीत ल्याउनु पछाडि लागूऔषध प्रयोगविरुद्ध सचेतना जगाउनु रहेको उनी बताउँछन् ।

‘लागूऔषध दुर्व्यसनलाई समाजमा क्राइमको रुपमा हेरिन्छ । डब्लुएचओले यसलाई बिरामीकै संज्ञा दिएको छ,’ उनी भन्छन्, ‘यसबारे युवापुस्तामा जागरुकता जगाउनु जरुरी छ । यसकारण बिरामी ल्याउनुपरेको हो ।’

लाउरेले लागूऔषध प्रयोग गर्न छाडेको आठ महिना भइसकेको छ । उनी अहिले यसबाट मुक्त भइसकेका छन् । छाडेको तीन सातासम्म आफू निकै कठिन भएको बताउने लाउरे अहिले भने लागूऔषधमुक्त जीवन बाँचिरहेका छन् ।

चार वर्षअघि उनले हिमालय टीभीबाट प्रसारण भएको रियालिटी शो रोडिजको लागि गीत ल्याएका थिए । उनी तिहारसम्म थप तीन गीत ल्याउने तयारीमा छन् । यसबाहेक विदेशमा समेत उनको सांगीतिक टुर सुरु हुँदैछ ।

यतिबेला उनी जिल्ला प्रहरी कार्यालय कास्कीको लागूऔषधविरुद्ध सद्भावना दूत पनि हुन् । त्यो अभियान सकिएपछि उनी अहिले गीतका लागि काठमाडौं आइपुगेका छन् । कार्यक्रममा गायिका त्रिशला गुरुङ र रोडिज रियालिटी शोका निर्देशक सिमोस सुनुवारले पनि गीतको प्रशंसा गरे ।