Breaking

रौतहटमा जिप दुर्घटना १ जनाको, ६ जना घाइते


काठमाडौँ — रौतहटको चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिकै पश्चिमबाट आउँदै गरेको ना ५ च ५९० नम्बरको पिकअप जिप दिउँसो अनियन्त्रित भई सडकमा पल्टिँदा वीरगन्ज–५ का २४ वर्षीय पवन मेस्तरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु जैसवारले बताए । घाइते मेस्तरलाई उपचारका लागि चन्द्रपुर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्गा पूजाको समापनपछि वाग्मती नदीमा मूर्ति सेलाउन हिँडेकाहरु जिप दुर्घटनामा परेका हुन् । जिपको बायाँ चक्का पन्चर भई सडकमा पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा जिपमा सवार वीरगन्ज–५ का नरेश मण्डल घाइते छन् । बायाँ हातको पाखुरामा चोट लागेका मण्डलको चन्द्रपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते अर्का राजेशकुमार चौरसियाको अनुहार, चिउँडो काटिएको छ । रोशन गुप्ताको हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनायो । दुर्घटनामा वीरगन्जकै बादल महतो, राहुल महतो, अंशु श्रीवास्तव घाइते छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको छ । केही घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।