देश

राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढायो


काठमाडौँ – नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ । मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङबाट एकै दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट एकै दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । अब बैंकबाट वालेटमा प्रति–कारोबार ५० हजार, प्रति–दिन एक लाख र प्रति–महिना १० लाख रुपैयाँसम्म कारोबार सकिनेछ ।

यस्तै एक वालेटबाट अर्को वालेटमा प्रति–कारोबार २५ हजार, प्रति–दिन एक लाख र प्रति–महिना पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । त्यस्तै, एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई वटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

दुई वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति–कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । यस्तै मोबाइल र इन्टरनेट बैंकिङ कारोबारमा ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका लागि प्रति–कारोबार २० रुपैयाँ र एक लाखभन्दा माथिको कारोबारको हकमा सेवा प्रदायकले ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।