समाचार

राष्ट्र बैंकले भन्यो – क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गैरकानुनी


काठमाडौँ — नेपाल राष्ट्र बैंकले नेपालमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङका कारोबार तथा व्यवसाय गैरकानुनी रहेको स्पष्ट पारेको छ ।

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरिरहेका बेला राष्ट्र बैंकले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको स्पष्ट पारेको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड १, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङलाई केन्द्रीय बैंकले गैरकानुनी रहेको स्पष्ट पारेको छ ।

छोटो समयमा धेरै पैसा कमाउने आशामा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न हुने र संलग्न गराउने गरेको पाइएको भन्दै राष्ट्र बैंकले भनेको छ, ‘उपर्युक्त किसिमका गैरकानूनी वित्तिय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ ।’

राष्ट्र बैंकले नेपालमा बस्ने नेपाली र विदेशी तथा विदेशमा बस्ने नेपालीलाई यस किसिमका कारोबारमा संलग्न नहुन र नगराउन निर्देशन दिइएको छ।